काठमाडौं फागुन १५, २०७६
चीनबाहिर नोबेल कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको छ । पछिल्लो पटक ल्याटिन अमेरिकी देश ब्राजिलमा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको हो । योसँगै पहिलो पटक चीनमा भन्दा चीनबाहिर नयाँ संक्रमितको सङ्ख्या बढी देखिएको छ ।आधिकारिकरुपमा कोभिड–१९ नाम दिइएको यस रोगले हालसम्म २७ सयभन्दा बढीको ज्यान लिइसकेको छ भने ४४ देशहरुमा ८१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।
यसमध्ये धेरै चीनमा रहेका छन् ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चीनमा कोरोनाभाइरसबाट संक्रमित हुने नयाँ रोगीको सङ्ख्या ४११ भएको जनाएको छ भने चीनबाहिर यो सङ्ख्या ४ सय २७ रहेको थियो ।हिजो पहिलोपटक चीनमा भन्दा चीनबाहिर नयाँ संक्रमितको सङ्ख्या बढी देखिएको थियो,’ डब्लुएचओका निर्देशक टेद्रोस अधानोम घेब्रेसियसले बुधबार भनेका थिए ।
विश्वब्यापीरुपमा कोरोनाभाइरस फैलिन थालेपछि बुधबार चीनले कोरोनाप्रभावित बाहिरी मुलुकबाट आफ्नो राजधानी बेइजिङमा आउने नागरिकहरुलाई १४ दिनको ‘सेल्फ क्वारेन्टाइन’ मा जाने घोषणा गरेको छ ।
यता, ब्राजिलमा इटालीबाट फर्किएका एक ६१ वर्षीय बृद्धमा कोरोनाभाइरस देखिएको जनाएको छ । इटाली युरोपमा कोरोनाभाइरसको ‘हटस्पट’ बनेको छ ।
ग्रीसमा पनि बुधबार पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको छ भने स्पेन, क्रोएसिया, अस्ट्रिया, उत्तर मेसेडोनिया र अल्जेरियामा पनि संक्रमित फेला परेको बताइएको छ ।
इटालीमा हालसम्म ३ सय ७४ जना कोरोना संक्रमित फेला परेका छन् भने १२ जनाले ज्यान गुमाइसकेका छन् ।
मध्यपूर्वमा इरान कोरोनाको केन्द्रविन्दु बनेको छ । त्यहाँ १ सय ३९ जनामा यो रोग देखापरेको छ भने १९ जनाले यसबाट ज्यान गुमाएका छन् ।
उता, चीनपछि दक्षिण कोरिया सबैभन्दा प्रभावित देखिएको छ । बुधबार त्यहाँ २ सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ संक्रमितको सङ्ख्या १२ सय ६१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।ratopati