९ फागुन २०७६, शुक्रबार
करिब एक साता अगाडिदेखि नै नेपालमा र विशेषगरी पशुपति क्षेत्रमा शिवरात्रीको चहलपहल बढेको छ । पशुपतिनाथको दर्शनार्थ भक्तजनलाई कसरी सेवा, सुबिधा उपलब्ध गराउने भन्ने बारेमा विभिन्न समितिहरू गठन भएका छन् । नेपाल शिवको भूमि हो, नेपालको पाशुपत क्षेत्र धार्मिक र आध्यात्मिक अर्थले महत्वपूर्ण क्षेत्र हो ।
शिवरात्रीको अवसर पारेर गरिने विविध पूजाआजा, ब्रत, भजनको आफ्नै महत्व र संस्कार छ । तर, शिवको अर्थ, शिव भगवानले दिएका सन्देश र शिव द्वारा प्रतिपादित ध्यान र योगका विधि अनि यसका मर्म हामीले जीवनमा आत्मसात गर्न सकेका छौँ कि छैनौँ त्यो अझ महत्वपूर्ण छ ।मन्दिर जानु, मूर्ति पूजा गर्नु र बहिर्पूजा धमाधमले मात्रै हाम्रो अन्तर विकास नहुन सक्छ । हाम्रो आत्मविकासका लागि योग, ध्यान र जागरणमूलक जीवनशैली अत्यन्त महत्वपूर्ण रहन्छ ।
भगवान शिवले कल्याणकारी जीवन बाँच्न दिनुभएका तीन मात्र सूत्रहरू अपनाउन सके हाम्रो जीवन पनि धन्य बन्नेछ । ध्यानका परिणाम पनि यिनै तीन सूत्रमा समेटिन सक्छन्
१–जागरण
जीवन जिउने महत्वपूर्ण कलामध्ये एक हो जागरण । एक द्रष्टाझैं आफैंले आफैंलाई हेर्ने एक मूलमन्त्र हो जागरण । आफूले गरिने कर्महरु जस्तै– हिँड्दा, बोल्दा, कुराकानी गर्दा, खाँदा, पढ्दा, श्वास लिँदा–छोड्दासमेत सबै कामहरुमा भित्रबाट आफैं द्रष्टा भएर हेर्ने कला जागरण हो ।
आफ्ना शरीरका क्रियाकलापहरुप्रति होशपूर्ण हुनु, आफ्नो आउँदै जाँदै गरेको श्वासप्रति होशपूर्ण हुनु, स्वाद, गन्ध, ध्वनि, दृष्य र स्पर्शप्रति होशपूर्ण रहनु सबै जागरण अवस्थाका लक्षणहरु हुन् ।
आफूले व्यक्त गर्ने र अरुबाट प्राप्त गर्ने हार्दिक अनुभूति जस्तै प्रीति, स्नेह, श्रद्दा जस्ता संवेदनाप्रति होशपूर्ण हुनु पनि जागृत अवस्था हो । दिव्य नाद, अकारण खुसी या दूखी, शान्ति या अशान्ति सबै विचारहरुप्रति होशपूर्ण हुनुपनि जागृत व्यक्तिका गुण हुन् ।
२– साधना
साधना, अभ्यास, निरन्तर सिकाई मानव विकासका आयाम हुन् । मानिसहरुले एकापसमा कुरा गरेको सुनिन्छ–जीवनमा सिकेर पनि कहिल्यै नसकिने रहेछ । वास्तवमै हो । जीवनका हरेक घटना र अनुभवले केही न केही सिकाएकै हुन्छन् । बच्चादेखि बृद्ध सम्मका आफन्तहरुका संगतबाट केही न केही सिकेकै हुन्छौं । नयाँ–नयाँ प्रविधिको विकासबाट त झन् नसिक्ने कुरै भएन ।
सिकाइ कहीँ गएर अन्त हुन्छ र अब सिक्न बाँकी केही रहेन भनेर कसैले भनेको सुनिएको छैन । हिजो सिक्ने तरिका अर्कै थियो होला, आज सरल र सहज होला । या त हिजोका सिकाइ जीवन विधायक थिए होलान् आजका सिकाइ क्षणिक सुखका निम्ति होलान् र पनि सिकाइ त निरन्तर छ ।
हामीलाई धेरै कुरा मात्र होइन, सबै कुरा जानेको छु भन्ने भ्रम छ । तर, गहिरिएर हेर्ने हो भने हाम्रो दैनिकीलाई हेरौं– हामीलाई हिँड्न, बोल्न, खान, कुरा गर्न, पाहुनालाई स्वागत गर्न केही पनि खासमा आउँदैन । हाम्रो काम गर्ने, बोल्ने शैलीमा नम्रपना र शिष्टता छैन । जसरी गरे पनि काम त चल्छ, तर त्यसमा मिठास ल्याउन, शिष्टता ल्याउन शीलको जरुरी हुन्छ ।
३. समर्पण
समर्पणको अर्थ हो– आफ्नो अहंकारलाई तिरोहित गरिदिनु । कर्म गरौँ, सफलता हात पारौं । तर, त्यसको श्रेय अहंकारवश आफैंमा सीमित नराखौं, श्रेय अस्तित्वलाई, परमात्मालाई, भगवानलाई, जे पनि आफ्नो श्रद्धाको मार्ग छ, त्यसलाई छोडिदिऊँ । यो नै अहंकाररहित समर्पण भाव हो ।
आफूले जानेको, बोध गरेको ज्ञान, बुद्धि, प्रेम, प्रज्ञा सबै अस्तित्वको कृपा हो भनी समर्पित गरिदिनु नै समर्पण भाव हो । समर्पण पूर्णताको परिचय हो । आजका हामी मानिस राम्रो भए र सफलता हात लागे आफैंलाई श्रेय दिने र भनेजस्तो भएन भने भाग्यलाई, परमात्मालाई दोष दिने चलन छ । यसले आत्मविकास हुन दिँदैन । हामीले आर्जन गरेका कुराहरू भन्दा अस्तित्वगत प्राप्त भएका बहुमूल्य उपहारहरूको बोध गरी अहोभाव व्यक्त गर्न सक्नु समर्पणभावको गुणवत्ता हो । हृदयमा करुणा, प्रेम र संवेदना जागृत भएपछि मात्र समर्पण भाव प्रष्फुटन हुन सक्छ ।
भगवान शिवले आफ्ना ध्यान र योगका विधिहरूमा सिकाउनु भएका यी जीवनोपयोगी सूत्रहरुलाई आफ्नो जीवनमा आत्मसात गर्न सकेमा भगवान शिवप्रतिको वास्तविक श्रद्धा र भक्तिभाव अर्पण भएको मानिनेछ ।online khabar