मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलाको जस्तो सर्वेसर्वा सिडिओ आवस्यक नभएको बताएका छन् । शान्ति सुरक्षा, विकास निर्माण, कर्मचारी प्रशासन र स्थानीय समन्वय गर्ने सिडिओ राख्दा संघीयताको मर्म विपरित हुने उनले टिप्पणी गरे ।
नेपाल कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि बागलुङ आएका गुरुङले पत्रकारहरुको संक्षिप्त भेटमा तीन तहकै सरकारको समन्वयमा काम गर्ने प्रशासन आवस्यकतामा जोड दिएका हुन् ।
उनले संघिय सरकारलाई प्रहरी र सिडिओ परिचालन सम्बन्धी कानून छिटो ल्याउन आग्रह पनि गरे । संघिय सरकारले सिडिओको सरुवा, बढुवाको काम गरेपनि प्रदेशको मातहत र समन्वयमा चल्ने कानून नभए संघीयताको औचित्य नहुने समेत बताए । हाल निर्माणाधिन कानूनको मस्यौदामा त्यस्तो नभएकोले मुख्यमन्त्रीको हैसियतले संशोधनको माग गरेको उनले बताए ।
तीन तहको सरकार बनिसकेकोले आफ्नै प्रहरी राख्ने अधिकारलाई समेत संघले बुझ्नुपर्ने टिप्पणी गरे । ‘हामीले दुइ तीनवटा मोडल बनाएर सुझाव दिएका छौं,’ उनले भने, ‘आईजिपी नै प्रदेशको बनाउने वा संघिय आईजिपीको मातहतमा एआईजी प्रमुख हुने प्रहरी बनाउने भन्ने टुंगो लागेको छैन ।’
गृहमन्त्री, गृहसचिव र आईजिपीको मर्र्यादाक्रम अनुसारको पद राख्ने योजनामा छलफल भैरहेको उनले बताए । सुरक्षा, राजमार्ग, राष्ट्रिय गौरवका आयोजना जस्ता विषय संघीय सरकारकै भएपनि ती क्षेत्रमा भएका बेथिती सम्हाल्ने काममा प्रदेश सरकार टुलुटुलु हेरेर बस्न नसक्ने उनले टिप्पणी गरे ।
सुरक्षा, विकास निर्माण जस्ता काममा प्रदेश सरकार आँफै भूमिकाको खोजीमा भएको गुरुङको भनाई छ । ‘गण्डकी प्रदेशमा ठेकेदारले गरेको लापरबाही, यहाँका व्यपारीले गरेको सिण्डीकेट जस्ता विषय हेरेर बस्दैनौं,’ गुरुङले भने, ‘प्रदेश सरकारले ती बिषयको कारवाहीमा भूमिका खेल्छ, संघलाई पनि कारवाहीमा बाध्य पार्छ ।’
केन्द्रीय कानूनको अभावमा धेरै प्रदेशका कानुन रोकिएको उनले बताए । ‘संघिय सरकारले धेरै कमजोरी गरेको छ, तर हामीले प्रदेश तहमा कमजोरी गर्दैनौं,’ उनले भने, ‘हेलो मुख्य मन्त्रीमा सबै समस्या पठाउन भनेका छौं । आएका गुनासा तत्काल सम्बोधनको व्यवस्था समेत गरिएको छ ।’
यातायात क्षेत्रको सिण्डीकेट निमिठ्यान्न पार्न प्रदेश सरकार क्रियाशिल बन्ने उनले प्रतिवद्धता जनाए । क्षेत्रीय पदमार्गहरु र चक्रपथ निर्माणका अभियान चार बर्षमा पुरा गर्ने गरी बजेटको व्यवस्थापन गर्ने उनले बताए ।
‘चालु वर्ष थोरै बजेट छ, त्यसले अभियानको रुपमा केही काम मात्र थालनी हुन्छ,’ उनले भने, ‘अर्को वर्षदेखि धमाधम बजेट सहितका काम हुनेछन् ।’
पार्टीका कार्यकर्ता प्रशिक्षणको क्रममा उनले पार्टी नीतिले चलेपनि प्रधानमन्त्री केपी ओली ईतिहासको उच्च नेता भएको बताए ।
‘आन्दोलनपछिको व्यवस्थापन गरेर पार्टी एकता र निर्वाचनबाट ठूलो शक्ति बनाउने नेतालाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘अब नेकपाको प्रतिष्पर्धामा कोही आउन सक्दैन ।’ कांग्रेस एजेण्डा र नेतृत्व विहिन पार्टी भएको उनले आरेप लगाए ।
‘नेकपाको सरकारले गरेको एकदुइ कमजोरीमा मात्र राजनीति गरेर कांग्रेस थन्केको छ,’ गुरुङले भने, ‘राजा च्यापेर च्याखे थाप्नेको पनि कुनै भविष्य छैन ।’ कार्यकर्तालाई विजयको उन्मादमा रमाउँदा सोभियत संघझै नेकपा समाप्त हुने भन्दै जनस्तरमा पुगेर काम गर्न निर्देशन दिए । kantipur