ताजा समाचार:
Search

घुम्ती टोली मार्फत जलजलामा साढे १४ लाख राजश्व संकलन

विकल्प न्यूज/बेनी
पुस २३ गते ।
जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत साढे १४ लाख रुपैयाँ सम्पत्ति तथा भुमिकर संकलन भएको छ ।पुस ७ गते ३ नम्बर वडा कार्यालय मल्लाजबाट सुरु भएको घुम्ती शिविर मार्फत दिनको अवधिमा ९ वटा वडाका दुई हजार ५६७ जनाबाट १४ लाख ५६ हजार ९२३ रुपैयाँ भूमी तथा सम्पत्ति कर संकलन भएको टोलीका संयोजक भेषनाथ आचार्यले जानकारी दिनुभयो ।

यसअघि गाउँपालिकाको कार्यालयमा २५७ जनाले दुई लाख ६५ हजार ७१७ रुपैयाँ सम्पति तथा भूमिकर बुझाएका थिए । सेवाग्राहीहरुको सुबिधाका लागि वडाका जनप्रतिनिधि र वडा सचिवहरुसँग समन्वय गरेर वडा कार्यालयमै सम्पति तथा भुमिकर संकलनसँगै व्यवसाय दर्ता र नविकरणको सुबिधा दिइएको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले बताउनुभयो ।

अभियानको क्रममा ६ वटा व्यवसाय दर्ता भएको छ । ३ नम्बर वडामा १२५ जनाबाट एक लाख एक हजार २५४, २ नम्बर वडाका १६८ जनाबाट एक लाख १४ हजार ९३ रुपैयाँ, १ नम्बर वडा बाँसखर्कबाट १६७ जनाले एक लाख ३६ हजार ८३५ रुपैयाँ, ४ नम्बर वडाका २६७ जनाले एक लाख ७७ हजार ७४७ रुपैया, ७ नम्बर वडाका २६१ ज्नाले एक लाख ३८ हजार ७९० रुपैयाँ सम्पति तथा भुमिकर बुझाएका छन् । यसैगरी ८ नम्बर वडाका ३५७ जनाले तीन लाख ३१ ह्जार ३१२ रुपैयाँ, ९ नम्बर वडाका २६६ जनाले एक लाख ३८ हजार ९८० रुपैयाँ, ५ नम्बर वडाका ३०३ जनाले एक लाख २१ ह्जार ४८८ रुपैयाँ र ६ नम्बर वडाका ३९५ जनाले एक लाख ९६ हजार ३९४ रुपैयाँ बुझाएका छन् ।
सम्पत्ति तथा भूमिकरका फोकलपर्सन नायव सुब्बा भेषनाथ आचार्यको नेतृत्वमा सूचना प्रविधि अधिकृत मिलन मल्ल, कर्मचारीहरु शुशिला शर्मा ढकाल, अनिताकुमारी शर्मा, उदयचन्द्र श्रेष्ठ, इन्द्रबहादुर खत्रीको टोली परिचालन गरिएको थियो । सोमबार शालीजामा घुम्ति शिविर समापन गरिएपनि छुटेकाले गाउँपालिकामा आएर बुझाउन सक्ने जनाइएको छ ।

जलजलाले चालू आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रमा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहराको कर लिन सुरु गरेको छ । सम्पति तथा भूमीकरबाट यस वर्ष चालिस लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । जलजलामा छ हजार करदाता रहेका गाउँपालिकाको अनुमान छ ।