निर्मलाको पक्षमा बेनीमा विप्लव नेकपाको प्रर्दशन

विकल्प न्यूज/बेनी
मंसिर १६ गते । विप्लव नेतृत्वको नेकपाले आइतबार कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बेनीमा प्रदर्शन गरेको छ । बेनीको विरेन्द्रचोकबाट निस्केको जुलुसले बजार परिक्रमा गरी हुलाक चोकमा कोणसभा गरेको हो ।

हत्याको ४ महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठाघारमा ल्याउन नसकेको भन्दै सरकारलाई दवाव स्वरुप नेकपाले प्रदर्शन गरेको हो । पूर्व सभासद तथा पार्टीका इन्चार्ज गम बहादुर श्रीसमगरले जुलुसको नेतृत्व गर्नुभएको थियो ।

प्ले कार्ड सहित प्रर्दशनमा उत्रिएका कार्यकर्ताहरुले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
हुलाका चोकमा आयोजित कोणसभामा इन्चार्ज श्रीसमगरले समाजमा रहेको असुरक्षा र अशान्तीलाई दलाल संसदीय व्यवस्था नियन्त्रण गर्न नसक्ने बताउनुभयो । उहाँले निर्मालाको हत्यारालाई कडा कारवाही गर्न माग समेत गर्नुभयो । कार्यक्रममा जिल्ला सेक्रेटरी बावुलाल शाक्य सहित जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पन्तको गत साउन १० मा बलात्कारपछि हत्या भएको अवस्थामा शब फेला परेको थियो । सरकारले अझै हत्यारा पत्ता लागाउन सकेको छैन ।