परिवार नियोजनका साधनहरु प्रयोग गर्नुपर्नेमा जोड

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, असोज ३ ।IMG_1687पछिल्लो समय असुरक्षित रुपमा गर्भपतन गराउने क्रम बढ्दै जान थालेपछि परिवार नियोजनका साधनहरुको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । ‘किशोरी किशोरीहरुको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने मूल नारासहित आयोजित पाँचौं परिवार नियोजन दिवस–२०७५ को अवसरमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
मङ्गलबार म्याग्दीको बेनी नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखाको आयोजनामा बेनी अस्पतालमा सम्पन्न अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरुले परिवार नियोजनका लागि अस्थायी र स्थायी साधन तथा सेवासुविधाको प्रयोग गर्न सकिने बताएका थिए । उनीहरुले नवविवाहित दम्पति र सन्तानको रहर पुगेका दम्पतिहरुले परिवार नियोजनको अस्थायी र स्थायी साधनको प्रयोग गर्न सक्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै बेनी अस्पताल म्याग्दीका निमित्त प्रमुख डाक्टर भूषणकुमार सुवेदीले जन्मान्तरलाई रोक्नका लागि पनि परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरुको प्रयोग गर्न सकिने बताए । उनले परिवार नियोजनले सानो र सुखी परिवार निर्माण गर्नका लागि सहयोगी भूमिका खेल्ने बताउँदै अनइच्छुक गर्भ रहनबाट समेत बचाउने बताएका छन् । परिवार नियोजनले मानव स्वास्थ्यलाई असर नगर्ने भन्दै डा. सुवेदीले सन्तानको रहर पुगिसकेका दम्पतिले परिवार नियोजनको सेवा अपनाउन सक्ने बताए ।

परिवार नियोजन सुदृढीकरण कार्यक्रम सिप्फो टु म्याग्दीका जिल्ला प्रवन्धक कल्पना गुरुङले परिवार नियोजनका साधनहरुको प्रयोगले जन्मान्तर फरक पार्न तथा बढ्दो जनसङ्ख्या वृद्धिदरलाई रोक्न सहयोग पु¥याउने बताएकी थिइन् । उनले परिवार नियोजनका साधनको प्रयोगले स्मार्ट जीवन जिउन सहज हुने भन्दै परिवार नियोजनले परिवार पनि सुन्दर बन्ने बताइन् । मिलन म्याग्दीको साझेदारीमा सञ्चालित सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर राम खड्काले परिवार नियोजनसम्बन्धी विभिन्न विषयमा जानकारी लिनका लागि नमस्ते मोबाइलबाट १६६००१००४५५ र एनसेलबाट ९८०१५७२०२० मा निःशुल्क रुपमा फोन डायल गरेर सूचना सुन्न सकिने जानकारी दिएका थिए ।

कार्यक्रमको बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले सहजीकरण गरेकी थिइन् । निमित्त प्रमुख डा. सुवेदीको अध्यक्षता, स्वास्थ्य संयोजक गौतमको सञ्चालन र सहसंयोजक सोमनाथ उपाध्यायको स्वागतमा सम्पन्न कार्यक्रममा किशोरकिशोरी र महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा परिवार नियोजनका अस्थायी साधनहरु कण्डम, पिल्स, कपर्टी, इम्प्लान्ट, स्थायी सेवातर्फ पुरुषका लागि भ्यासेक्टोमी र महिलाको मिनील्यापको बारेमा जानकारी गराइएको थियो ।

विगत केही समययता भने असुरक्षित रुपमा गर्भपतन गर्नेहरुको सङ्ख्या बढ्दै जान थालेको विभिन्न तथ्याङ्कले देखाएको छ । खासगरी किशोरकिशोरीहरुले असुरक्षित यौनसम्पर्क गरी गर्भपतन गर्ने गरेको तथ्याङ्क सार्वजनिक हुने गरेको छ । म्याग्दीमा पनि बिहे नगरी गर्भपतन गराउनेहरु बढेका छन् ।