सेतो गुराँसको नवौं वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, भदौ १६ 40464806_308079606412719_1396777025980596224_nसेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्था गोङ्गबु, काठमाडौंको शुक्रबार नवौं वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । १ हजार तीनसय जनाभन्दा बढी शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी दुई करोड, लगानी आठ करोड, बचत साढे पाँच करोड र कुल कारोबार १० करोड रहेको छ ।

साधारणसभाको उद्घाटन गर्दै महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले महिला सहकारीले महिलाहरुको आयआर्जनमार्फत सुधार आउने गरी नीति तथा योजनाहरु ल्याउनुपर्ने बताइन् । सहकारीले व्यावसायिक र आर्थिक उपार्जनका क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै उनले महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने वातावरणको सिर्जना गर्नुपर्ने बताएकी छिन् ।

राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारीमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै सहकारीले कृषि, पर्यटन, उद्यमलगायत व्यवसायमा लगानी वृद्धि गर्नेतर्फ जोड दिनुपर्ने बताइन् । साधारणसभामा काठमाडौं बचत तथा ऋण सहकारी संघका अध्यक्ष केशव दङ्गाल, सहकारी बैंक गोङ्गबु शाखाका प्रवन्धक विनोद भट्टराई, धौलागिरी सहकारी समूह तथा धौलाश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष याम श्रेष्ठ र सदाबहार बचत तथा ऋण सहकारीका अध्यक्ष किस्मतमणि श्रेष्ठले मन्तव्य राखेका थिए ।

यसैगरी साधारणसभाको अवसरमा सहकारीले महिला मन्त्री थममाया थापालाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सहकारी संघका उपाध्यक्ष मल्ललाई मायाको चिनोसहित सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा उत्कृष्ट व्यवसायी रितु बानियाँ र उत्कृष्ट कारोबारकर्ता सीता फगामीलाई पुरस्कारसहित सम्मान गरिएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष दुर्गा कार्की बानियाँले संस्थागत तथा भावी योजनासहितको प्रगति, कोषाध्यक्ष विश्व मल्लले आर्थिक र लेखा संयोजक तारा पूर्जाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष बानियाँको अध्यक्षता, उपाध्यक्ष पूर्ण केसीको स्वागत र सचिव नरकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा तीज गीतमा नाचगान एवं नृत्य समेत प्रस्तुत गरिएको थियो । काठमाडौंमा बसोबास गर्ने धौलागिरी क्षेत्रका महिलाहरुको सक्रियतामा २०६६ सालमा स्थापना भएको सहकारीमा म्याग्दी, बागलुङ, पर्वत, कास्की र काठमाडौंका महिलाहरु आबद्ध छन् ।