क्याम्पसमा तीज नृत्य प्रतियोगिता

सन्दीप शर्मा/विकल्प न्यूज
म्याग्दी, भदौ १६ गते ।40489725_282891945859120_9026979683673047040_nस्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा शुक्रबार तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तीजको अवसरमा आयोजित अन्तर विद्यालय तथा कलेजस्तरीय तीज नृत्य प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम गरिएको हो ।
कुल १२ ओटा विद्यालय सहभागी भएको प्रतियोगिताबाट न्यु वेष्ट पोईन्ट कलेज प्रथम, म्याग्दी बहुमुखी क्याम्पस द्वितीय, बुद्व एकेडेमी तृतीय र न्यु होराईजन आवसीय मावि सान्त्वना भएका छन् । विजयी विद्यालयलाई क्रमशः १० हजार ६ हजार, तीनहजार र एकहजार पाँचसय रुपैयाँसहित अबिर र खादा लगाई प्रमाणपत्रले सम्मान गरिएको आयोजक स्ववियुले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले पछिल्लो समय क्याम्पसमा धेरै सुधारका कामहरु गरिएको बताए । उनले कक्षा ११ र १२ तर्फ बिहान तथा दिउँसोमा पनि कक्षा सञ्चालन गरिएको बताउँदै म्याग्दी बहुमुखी क्याम्पसलाई गण्डकी प्रदेशको नमुना र उत्कृष्ट बनाउन लागिपरेको बताएका छन् ।
म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख टिकाराम सापकोटा र सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले पछिल्लो समय स्ववियुले क्याम्पसमा उत्कृष्ट कार्य गरेको बताउँदै स्ववियुकोे अझै पनि क्याम्पस विकासका लागि रचनात्मक भूमिका आवश्यक रहेको बताएका थिए । अनेरास्ववियु केन्द्रीय सदस्य प्रकाश पौडेल र जिल्ला अध्यक्ष सुवास विश्वकर्माले देशैभरी महिला हिंसा बढिरहेको बताउँदै बलात्कारीलाई फाँसी दिने कानुन बनाउन माग गरेका छन् ।
कार्यक्रमको अवसरमा गतवर्ष व्यवस्थापन सङ्कायतर्फ चौथो वर्षको परीक्षामा सहभागी भई उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । स्ववियु उपसभापति ईश्वर सुवेदीको अध्यक्षता, सदस्यद्वय रश्मी रोकामगरको सञ्चालन र भरत मल्लको स्वागतमा सम्पन्न भएको थियो ।