सन्तोष गौतम/विकल्प न्यूज
बेनी २८ साउन । म्याग्दीका सरोकारवालाहरुले सरकारी निकायमा हुने अनियमितता र बेतिथी न्युनीकरणका लागि प्रभावकारी लेखा परिक्षणमा जोड दिएका छन् । जिल्ला स्थित सरकारी कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा गरेका खर्च विवरणको लेखापरिक्षणका लागि महालेखा परिक्षकको कार्यालयबाट खटिएर आएको डोर टोलीले सोमबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले लेखापरिक्षण कार्यलाई औपचारीकतामा सिमीत राख्न र दुख, झञ्जट दिने हतियार बनाउन नहुने सुझाव दिएका थिए ।
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले पारदर्शीता, दिगो विकास, भ्रष्ट्राचार नियन्त्रण गरी शुसासन कायम गर्न राज्यको निती नियम पालना गर्नु सबैको दायीत्व भएको र यसको सबैले पालना गर्नुपर्ने बताउनुभयो ।
प्रजिअ लिलाधर अधिकारीले असारमा बजेटको ठुलो हिस्सा खर्च गर्ने, अपारदर्शी तथा अब्यवस्थित रुपमा डोजरको प्रयोग, दवाव र प्रभावमा हुने अनुचित काम गर्ने प्रवृती शुसानका लागि चुनौती भएको बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले लेखापरिक्षणका क्रममा वास्तवीक समस्या पहिचान गरेर औल्याउन आग्रह गर्दै कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकनाथ भुषालले लेखापरिक्षणका लागि विधि र प्रक्रियामा रहेर आवश्यक कागजात उपलब्ध गराएर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कोलेनीका प्रमुख छवीन्द्र बेल्वासे र मंगला गाउँपालिका २ बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खातीले स्थानीय तह र सरकारी कार्यालयमा दरबन्दि अनुसारका लेखाका कर्मचारीको ब्यवस्था मिलाउन मलेनिकाको टोलीलाई आग्रह गर्नुभयो ।
मलेनीकाका निर्देशक दुर्गा बस्नेत र लेखा परिक्षण समिक्षक जयनन्द सहितको टोलीले ३५ दिनसम्म बेनीमा रहेर म्याग्दीका ४० वटा कार्यालयले गत आर्थिक वर्षमा गरेका खर्चको विवरण परिक्षण र विगतका बेरुजु सम्परीक्षण गरी प्रारम्भिक प्रतिवेदन बुझाउने जनाइएको छ ।