म्याग्दी अदालतद्धारा ७५ प्रतिशत मुद्दा फस्यौट

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ साउन । IMG_6905म्याग्दी जिल्ला अदालतले आर्थिक वर्ष २०७४/७५ मा ७५ प्रतिशत मुद्दा फस्यौट गरेको छ । अदालतमा सोमबार आयोजित कार्यक्रममा अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ६६ र यस वर्ष दर्ता भएका २६१ वटा मुद्दा मध्य २४६ मुद्दा फस्यौट भएको जानकारी गराइएको हो ।
८१ थान मुद्दा चालु आर्थिक वर्ष २०७५÷७६ का लागि जिम्मेवारी सरेको जानकारी दिदै श्रेष्तेदार राजु ढुङ्गानाले दुई महिनाको समय चुनाव गराउन बितेपनि लक्ष्य अनुसारनै प्रगती भएको बताउनुभयो ।

जिम्मेवारी सरेर आएको ७४ लाख ४६ हजार ८२२ र यस वर्ष थपिएको नौ लाख असी हजार पाँच सय रुपैया जरिवाना असुल उपर गर्नुपर्नेमा चालीस लाख ७४ हजार ३९१ रुपैया असुल उपर भएको छ । यस आर्थिक वर्षका लागि त्रिचालीस लाख ५२ हजार ९३१ रुपैया जिम्मेवारी सरेर आएको तससीलदार नायव सुब्बा धर्मराज सुवेदीले बताउनुभयो ।

प्रहरी, प्रशासन, सेवा प्रदायक कार्यालय र स्थानीय तहको सहयोगमा फैसला कार्यान्वयनमा लक्ष्य भन्दा बढी सफलता पाएको श्रेष्तेदार ढुङ्गानाले बताउनुभयो । ९१२ वर्ष एक महिना ५ दिन कैद सजाय असुल उपर गर्नुपर्नेमा १७३ बर्ष तिन महिना आठ दिन असुल गरिएको छ । यस वर्षका लागि ७३८ वर्ष नौ महिना २७ दिन कैद असुल गर्नुपर्ने जिम्मेवारी सरेर आएको छ ।

बगैचा निर्माण, ढुङ्गा बिछ्याउने, पर्खाल र कम्पाउण्ड निर्माण, सिसीटिभी क्यामेरा जडान, पेशीमा रहेको मुद्दाको अवस्थाबारे सेवाग्राहीलाई जानकारीको लागि डिस्प्ले मनिटर राखिएको, बैकल्पीक उर्जा जडान, रंगरोगन लगायतका भौतिक पूर्वाधार निर्माणको काम भएको अदालतले जनाएको छ ।

श्रेष्तेदार ढुङ्गानाले सेवाग्राहीमा जानकारीको कमीका कारण निशूल्क कानुनी सेवा लिनेको संख्या न्युन रहेको बताउनुभयो । वार्षिक ४० हजार रुपैया भन्दा कम आएकालाई वडाको सिफारीसमा निशूल्क कानुनीसेवा उपलब्ध गराउन बैतनीक वकिलको व्यवस्था मिलाइएको श्रेष्तेदारले बताउनुभयो ।