सन्तोष गौतम/विकल्प न्यूज
बेनी ३० असार । जलजला गाउँपालिकाको बजार क्षेत्रमा दर्ता बिना अव्वस्थित रुपमा सञ्चालन हुदै आएका मासु पसलहरु कानुन र करको दायरामा आएका छन् ।
गाउँपालिका अन्तरगतको पशु सेवा शाखा र जनप्रतिनिधिहरुको टोलीले अनुगमन र नियमनमा कडाई गरेपछि मापदण्ड पुरा गरेर मासु पसल दर्ता हुन थालेका हुन् । प्रशासनीक र नियमनकारी निकायको पहुँचको कमीका कारण अव्यवस्थित रुपमा सञ्चालित मासु पसलका कारण कर छलीका साथै अस्वस्थकर मासु किनबेच हुने गरेको थियो ।
गाउँपालिकाको बजार क्षेत्रमा पर्ने बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, नाग्लीवाङमा नियमित रुपमा अनुगमन गरेर मापदण्ड अनुसारको मासु पसल दर्ता गराएको शाखाका पशु चिकित्सक बिमल शर्माले बताउनुभयो ।
उहाँका अनुसार एक वर्षयता १५ वटा मासु पसल दर्ता भएका छन् भने थप पाँच वटा दर्ता प्रक्रियामा छन् । ग्रामिण क्षेत्रका अन्य मासु पसलहरुलाई पनि अनुगमन गरी कानुन र करको दायरामा ल्याउने शर्माले बताउनुभयो ।
अनुगमन टोलीले सरसफाई, पूर्वाधार, चिस्यानको मापदण्ड पुरा गरेर ब्यवसाय दर्ता गर्न निर्देशन दिएपछि मासु पसलहरुको अवस्थामा सुधार आएको गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजाले पुनले बताउनुभयो । मापदण्ड पुरा गरेर दर्ता भएका दुई वटा मासु पसललाई गाउँपालिकाले यस वर्ष अनुदान समेत उपलब्ध गराएको छ ।
पशु सेवा शाखाको सिफारीसमा गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समितिमा ब्यवसाय दर्ता गर्नुपर्ने प्रक्रिया छ । गाउँपालिकाले ब्यवसाय दर्ता वापत दुई हजार रुपैया शूल्क निर्धारण गरेको छ ।
यसैबीच गाउँपालिकाका उपाध्यक्ष पुन, ३ नम्बर वडाका अध्यक्ष रवी भण्डारी, पशु सेवा शाखाका प्रमुख पौडेल, उद्योग वाणिज्य संघ मल्लाज ईकाईका डिलबहादुर बरुवाल र प्रहरी चौकीका प्रतिनिधिको टोलीले शनिबार जलजलाको बजार क्षेत्रका मासु पसलहरुको अनुगमन गरेको छ ।