प्रताप बानियाँ /बेनी
म्याग्दी, असार १६ ।
पर्वतको जलजला गाउँपालिका–२ माझफाँटस्थित बगरफाँटमा सञ्चालित उद्घोषणसम्बन्धी तालिम शनिबार सकिएको छ । जलजला गाउँपालिका २ नम्बर वडा कार्यालयको आयोजना, बगरफाँट आमा समूह र बगरफाँट जनजाति समूहको सहआयोजनामा महिलाहरुलाई लक्षित गरेर उद्घोषण कलासम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
दुई हप्तासम्म चलेको तालिममा प्रशिक्षक कृष्ण जिसीले उद्घोषण, माइन्युटलेखन, भाषणकला र लेखापालन, सामाजिक अभियन्ता वीणा झाले महिला सशक्तिकरण र देवी जिसीले सेनेटरी प्याड निर्माणका विभिन्न विषयहरुमा सहजीकरण गरेका थिए । तालिममा बगरफाँटका ३५ जनाले सहभागिता जनाएका थिए । तालिम समापनको अवसरमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमका आयोजक, सहआयोजक, प्रशिक्षक र अतिथिहरुलाई सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो ।
यसैबीच सोही अवसरमा शनिरबादेखि ‘सिप सिकौं, स्वरोजगार बनौं, उद्योग खोलौं र आम्दानी बढाऔं’ भन्ने नारासहित दुई महिने व्यावसायिक सिलाइकटाई तालिम सुरु गरिएको छ । जलजला गाउँपालिकाको आयोजना र बगरफाँट आमा समूह तथा बगरफाँट जनजाति समूहको सहआयोजनामा सिलाई कटाइसम्बन्धी तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
बगरफाँटका ४५ जना महिलाहरु सहभागी सिलाइकटाई तालिमको प्रशिक्षकद्वय भीमकुमारी पुन र दिलमाया पूर्जाले सहजीकरण गर्ने भएका छन् । महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर तथा व्यवसायमूलक कार्यमा सहभागी बनाउने र व्यक्तित्व एवं नेतृत्व विकास गर्ने उद्देश्यसहित सिलाइकटाई र उद्घोषणकला तालिमको आयोजना गरिएको बगरफाँट आमा समूहका उपाध्यक्ष मनिसा पुनले बताइन् ।
कार्यक्रममा सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गाउँपालिकामार्फत आत्मनिर्भर र आयआर्जनसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिने बताएका छन् । उनले स्थानीय समस्या, चाहना र आवश्यकतालाई सम्बन्धित वडा तथा गाउँपालिकामा राख्न आग्रह गर्दै सिलाइकटाई तालिम आत्मनिर्भर कार्यक्रम भएकाले महिलाहरुलाई लक्षित गरेर आगामी दिनमा अध्यक्ष हातेमालो कार्यक्रम पनि सञ्चालन हुने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिमा गर्बुजा पुनले गाउँपालिकामार्फत महिलाहरुको आर्थिक सशक्तिकरण गर्नका लागि आत्मनिर्भर तथा व्यवसायका क्षेत्रमा लगानी गरिने बताइन् । प्रशिक्षक कृष्ण जिसीले तालिममा सिकेका ज्ञान, सिपलाई पूर्णरुपमा व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा जलजला–८ का वडा अध्यक्ष एवं गाउँपालिकाको आर्थिक विकास संयोजक हरिविकास जिसी, सिद्धबाबा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर बरुवाल, पर्वत बेनी बगरफाँट तटबन्ध समितिका सचिव मुकुन्द शर्मा, प्रशिक्षार्थीहरु देवी पाईजा, भगवती शर्मा, हिमबहादुर विक, गीता विक र दलित सञ्जाल बगरफाँटका अध्यक्ष टिकाबहादुर माइलीपारले मन्तव्य राखेका थिए ।
जलजला–२ का वडाध्यक्ष गोविन्द खत्रीको अध्यक्षता र बगरफाँट आमा समूहका उपाध्यक्ष मनिसा पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा तालिमका प्रशिक्षार्थी शान्ति पाईजाले स्वागत गरेकी थिइन् ।