अस्पतालको बेडबाट जीवन रक्षाको आग्रह

विकल्प न्यूज/जलजला
जेठ १९ गते ।

उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङकी एक महिलाले शहिद गंगालाल हृदय रोग केन्द्र कामाण्डौंको अस्पतालको बेडबाट उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन आग्रह गर्नुभएको छ ।

 अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण आफ्नो उपचारमा लाग्ने ६ लाख रुपैयाँ जुटाउन नसकेर अस्पतालको बेडमा छट्पटाइ रहनुभएकी ६५ वर्षिया पूर्णकुमारी क्षेत्री खत्रीले सहृदयी व्यक्तिहरुसंग सहयोगको आग्रह गर्नुभएको हो ।
मुटुरोगका कारण जीवन मरणको दोसाँधमा रहनुभएकी खत्रीको उपचारमा ६ लाख रुपैयाँ लाग्ने अस्पतालका चिकित्सकहरुले बताएका र आफूसंग त्यतिधेरै पैसा नभएकोले आमाको उपचार हुन नसकेको खत्रीका छोरा राजन खत्रीले दुखेसो गर्नुभयो ।

 ‘घरको सवै सम्पत्ति बेच्दा पनि ६ लाख रुपैयाँ पुग्दैन’खत्रीले भन्नुभयो ‘डाक्टरले आमाको मुटुको शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि ६ लाख रुपैयाँ लाग्ने बताएका छन्, हामीसंग पैसा नभएकोले शल्यक्रिया नहुँदा आमा अस्पतालको बेडमा नै छट्पटाइ रहनुभएको छ’ छोरा राजनले भन्नुभयो ।

जलजला गाउँपालिकाको तर्फबाट अध्यक्ष यामवहादुर मल्लले खत्रीको उपचारका लागि आर्थिक सहयोग गर्न सहृदयी सवैलाई सिफारिस गर्नुभएको छ ।

पत्रमा अध्यक्ष मल्लले ‘उपचारमा लाग्ने ६ लाख रुपैयाँ परिवार स्रोतबाट जुटाउन सक्ने अवस्था नरहेकोले निजको उपचारका लागि सहयोगी हातहरुले खत्रीका छोरा राजनलाई यथाशक्य आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ’उल्लेख छ ।