जलजलामा ब्यवसाय दर्ता गर्न घुम्ती टाेली

सन्तोष गौतम
बेनी २७ बैशाख ।IMG_1804 जलजला गाउँपालिका ३ पर्वत बेनीमा बिहीबारदेखि ब्यवसाय दर्ताका लागि घुम्ती शिवीर सुरु भएको छ ।

उद्योग व्यवसायलाई करको दायरामा ल्याउनका लागि गाउँपालिकाले घुम्ती टोली परिचालन गरेर स्थानीय स्तरमै ब्यवसाय दर्ता गराएको हो । घुम्ती टोली मार्फत पहिलो दिन २८ जना भन्दा बढी व्यवसायीले गाउँपालिकामा ब्यवसाय दर्ता गराएका ३ नम्बर वडाका अध्यक्ष रबी भण्डारीले जानकारी दिनुभयो ।

शुक्रबार पनि ब्यवसाय दर्ता जारी रहने उहाँले बताउनुभयो । अध्यक्ष भण्डारीको अध्यक्षता, सामाजिक विकास शाखाका प्रमुख लिलाराज सुवेदीको सञ्चालन, पर्वत उद्योग वाणिज्य संघ मल्लाज उपशाखाका प्रथम उपाध्यक्ष चित्रराज रेग्मीको स्वागतमा सम्पन्न कार्यक्रमको गाउँपालिकाका उपाध्यक्ष सिमा पुनले उद्घाटन गर्नुभएको थियो ।

गाउँपालिकाका क्षेत्रमा सञ्चालीत उद्योग, पसल, फर्म र ब्यवसायलाई स्थानीय तहको मातहत ल्याउन यसअघि ९ नम्बर वडा बनौमा घुम्ती ब्यवसाय दर्ता शिवीर सञ्चालन गरिएको थियो ।

दर्ता नगरी सञ्चालन हुदै आएका पसल, ब्यवसाय, उद्योगलाई व्यवस्थित, नियमन र करको दायरामा ल्याउन लागिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । नियमनकारी निकायको पहुँचको कमी तथा ब्यवसायीको बेवास्ताका कारण ग्रामिण क्षेत्रका अधिकांश पसल, ब्यवसाय दर्ता बिनै सञ्चालन हुदै आएका छन् ।

प्रति व्यवसाय दर्ताका लागि दुई हजार रुपैया शूल्क निर्धारण गरिएको छ । मिलनचोक, वारीबेनी, मल्लाज, लस्ती जलजलाका मूल्य बजार क्षेत्र हुन । यसैगरी जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँटमा सञ्चालीत मासु पसलहरुको बिहीबार अनुगमन गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, ३ नम्बर वडाका अध्यक्ष रवी भण्डारी, पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक बिमल शर्मा, वारीबेनी प्रहरी चौकीका प्रमुख दिपक गौतम सहितको टोलीले ७ वटा मासु पसलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा पूर्वाधारको मापदण्ड पुरा गर्न, सरसफाई राख्न र ब्यवसाय दर्ता गर्न ब्यवसायीहरुलाई निर्देशन दिइएको थियो । यसअघि अनुगमन गरिएका पसलका सञ्चालकहरुले सुधार गरेर व्यवसाय दर्ताको प्रक्रियामा आएका पशु चिकित्सक शर्माले बताउनुभयो ।