सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस १५ गते । म्याग्दीको सदरमुकाममा रहेको बेनी सामुदायीक उच्च माविले छोटो समयमा लोभलाग्दो प्रगति गरेको छ ।
सिमित स्रोत, साधन र पुर्वाधारको बावजुद पनि शिक्षकको ईच्छाशक्ति, अभिभावकको साथ र व्यवस्थित योजना हुने हो भने सामुदायीक विद्यालयको शैक्षिक स्तर उकास्न कठिन छैन भन्ने उदाहरण बेनी सामुदायीक उच्च मावि बनेको छ ।
शैक्षिक उपलब्धिका हिसावले जिल्लामै अगाडी रहेको यस विद्यालयले क्षेत्रीय र राष्ट्रिय स्तरको सम्मान तथा पुरस्कार प्राप्त गरेको छ । लगातार ३ वर्षको एसएलसी परिक्षाको नतिजा, विद्यार्थीको सिकाई उपलब्धि र शिक्षा मन्त्रालयले निर्धारण गरेका विभिन्न सूचकमा अब्बल ठहरिएपछि वि.स २०७० मा सरकारले दुई लाख रुपैया नगद सहित ‘उत्कृष्ट राष्ट्रिय शिक्षा पुरस्कार’ प्रदान गरेको थियो ।
दुई पटकसम्म म्याग्दी जिल्लामा पहिलो र एक पटक पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट बनेको यस विद्यालयका प्राचार्य दिपक श्रेष्ठले गत भदौमा प्रजापती फाण्डेशनबाट नगद एक लाख रुपैया सहितको उत्कृष्ट शिक्षक पुरस्कार प्राप्त गर्नुभयो ।
प्राचार्य श्रेष्ठ सार्वजनीक निकायमा उत्तरदायीत्व प्रर्वद्धनमा क्रियाशिल सामाजिक संस्था एकान्टी बिलीट ल्याबले सिमित स्रोत साधनका बाबजुद सार्वजनीक सेवामा उत्कृष्ट काम गर्ने व्यक्तित्वलाई प्रदान गर्ने ‘इन्ट्रिग्रेटी आईडोल नेपाल’को अन्तिम पाँच जनाको सूचिमा पर्नुभएको छ ।
‘सामुदायीक भएपनि हामी निजी विद्यालयसंग प्रतिस्पर्धा गरिरहेका छौ । शैक्षिक नतिजा र सिकाई उपलब्धि निरन्तर बढ्दै गएको छ’ प्राचार्य श्रेष्ठले भन्नुभयो ‘दृढ ईच्छाशक्ति, शिक्षक, अभिभावकको साथ, सहयोग एवं विद्यार्थीको लगनशिलताले विद्यालयले प्रगती गर्न सकेको हो ।’
वि.स २०६३ देखि एसएलसी परिक्षामा सहभागिता जनाउन थालेको बेनी सामुदायीकले २०६७, २०६९ र २०७१ मा सतप्रतिशत विद्यार्थी उतिर्ण गराएको छ । २०६८ मा ९५ र २०७० मा ९८ प्रतिशत विद्यार्थी एसएलसीमा उतिर्ण भएका थिए । अन्य एसएलसी परिक्षामा ७५ प्रतिशत भन्दा बढी विद्यार्थी उतिर्ण भएका छन् ।
एसएलसीको नतिजा अनुसार कक्षा १० को औसत सिकाई उपलब्धि ६४ प्रतिशत छ । प्राबिको ४९ र निमावीमा ४६ प्रतिशत औसत सिकाई उपलब्धि छ । विद्यार्थी केन्द्रित शिक्षण बिधि, कक्षा कोठामा शैक्षिक सामाग्रीको प्रयोग, अंग्रेजी माध्यम, प्रबिधिको प्रयोग र अभिभावकको नियमित अनुगमनका कारण शैक्षिक उपलब्धी वृद्धी गर्न सहयोग मिलेको विद्यालयका सहायक प्रअ काशीराम रेग्मीले बताउनुभयो ।
प्राबि तहमा अग्रेजी माध्यमबाट अध्यापन हुने गरेको छ । ४ देखि १२ कक्षा सम्म अतिरित्त कम्प्युटर विषयको अध्यापन हुन्छ । कक्षा कोठामा शिक्षण सामाग्रीको उच्चतम उपयोग, अन्तरक्रियात्मक, सहभागीतात्मक र विद्यार्थी केन्द्रित शिक्षण बिधी अपनाइएको सहायक प्रअ रेग्मीले बताउनुभयो । विद्यालयमा कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला र पुस्तकालय सुबिधा छ । पावर प्वाईन्टको सहायताले पढाउने गरिएको छ । सिसीटिभीबाट कक्षाकोठाको गतिबिधिलाई निगरानी गरिन्छ ।
९४६ जना विद्यार्थी रहेको यस विद्यालयमा अभिभावकको सहभागितामा कक्षागत अनुगमन समिति गठन गरिएको छ । समिति मार्फत अभिभावकहरुले पालो लगाएर विद्यालयमा उपस्थित भई छोराछोरीले कक्षा कोठामा शिक्षकले पढाएको बुझे नबुझेको, व्यवहार, आचारण, अतिरिक्त क्रियाकलापमा सहभागिता लगायत विषयमा अनुगमन गर्छन् ।
कक्षागत अनुगमनका कारण कमजोर विद्यार्थीलाई घरमा अध्ययन गर्ने वातावरणको सृजना गर्न, सिकाई उपलब्धी बृद्धी गराउन र कुलतमा फस्नबाट बचाउन सहयोग मिलेको अभिभावक उषा किसानले बताउनुभयो ।
विद्यालयको प्रगतिबाट लोभिएर संस्थागत विद्यालय छाडेर आउने विद्यार्थीको ओईरो लागेको छ । यस वर्ष १२४ जना विद्यार्थीले भर्नाका लागि निवेदन दिएकामा परिक्षा मार्फत ६० जनालाई मात्रै भर्ना गरीएको छ । २०७१ मा ६४ र २०७० मा ७० जना संस्थागत विद्यालयका विद्यार्थी भर्ना भएका थिए ।
पढाईसंगै यहाँका विद्यार्थी अतिरीक्त क्रियाकलापमा पनि उत्तिकै चलाख छन् । जिल्ला स्तरमा हुने विभिन्न प्रतियोगितामा थुप्रै पुरस्कार जितेको छ । २०११ सालमा स्थापना भएको यो विद्यालयसँग वि.स २०६२ मा मावि सुरु गर्दासम्म न पर्याप्त भवन थियो न पढाउने ठाउँको ठेनाननै ।
मावि सुरु भएसंगै विद्यालयले शैक्षिक गुणस्तरमा जसरी फड्को मा¥यो भौतिक पुर्वाधारले पनि त्यतिकै तिब्रता पायो । ‘विद्यालयमा पढाई राम्रो हुने हो भने अभिभावकले जति पनि सहयोग गर्दा रहेछन’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम किसानले भन्नुभयो ‘सरकारी निकायका साथै अभिभावकको चन्दा सहयोगबाट भवन, कक्षाकोठा निर्माण गरेका छौ ।’
पाँच वटा पक्कि भवन रहेको यस विद्यालयमा ३४ वटा कोठा छन् । १७ जना दरबन्दिका शिक्षक रहेको विद्यालयले आन्तरीक स्रोतबाट ११ जना निजी शिक्षकको व्यवस्था गरेको छ । सटर भाडा र अभिभावकले गर्ने चन्दा सहयोग विद्यालयको आन्तरीक आयस्रोत हो । विद्यालयले सात वटा सटरलाई व्यवसायीक प्रायोजनाका लागि भाडामा लगाएको छ ।
सटर भाडाबाट मासिक ७० हजार रुपैया आम्दानी हुन्छ । ‘पर्याप्त शिक्षक दरबन्दि नभएपनि शिक्षकहरुको मेहनत र शैक्षिक स्तर राम्रो भएकाले अभिभावकहरु सहयोग गर्न तप्पर छन’ अध्यक्ष किसानले भन्नुभयो । विद्यालय सञ्चालनको बारेमा सिक्नका लागि बेनी सामुदायीकमा दैनिकजसो बाहीरी जिल्लाबाट विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिको टोली आउन थालेका छन् ।
विद्यालयले थप शैक्षिक र भौतिक विकासमा जोड दिने योजना बनाएको छ । शिक्षक–विद्यार्थी अनुपात कायम राख्ने, प्रबिधि मार्फत कक्षा शिक्षण गर्ने, औसल उपलब्धि वृद्धी गर्ने, छात्रावास लगायत भौतिक र आर्थिक क्षेत्रलाई मजवुत गर्ने लक्ष्य रहेको प्राचार्य श्रेष्ठले बताउनुभयो । कक्षागत भेलालाई निरन्तरता दिई, सबै कक्षामा अंग्रेजी माध्यमबाट पढाउने, कक्षा कोठालाई बालमैत्री र सजावटयुक्त बनाउने पनि योजना रहेको छ ।