विकल्प न्यूज/बेनी
मंसिर १ गते ।
गण्डकी प्रदेश सभा सदस्य स्वर्गीय विमला गौचनको शनिबार श्रद्धाञ्जली सहित शवयात्रा पछि बेनी स्थित कालिगण्डकी घाटमा अन्त्येष्टि गरिएको छ । कालिगण्डकी र म्याग्दी नदीको संगलस्थलमा अन्तिम श्रद्धाञ्जली दिन जिल्ला स्थित जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा कार्यक्रर्ता र सर्वसाधरणहरुको ठूलो उपस्थिति थियो ।
यसअघि गौचनको पार्थिव शरीरमा नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजाले पार्टीको झन्डा ओढाएर शनिबार श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
गौचनप्रति श्रद्धाञ्जलीका लागि मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, गण्डकी प्रदश सभा सदस्य हरिबहादुर भण्डारी,गण्डकी प्रदेश सभा सदस्य(प्रदेश सभा क्षेत्र क,पर्वत) का भक्त कुँबर,म्याग्दीका राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुकहरूको उपस्थिति थियो ।
मुस्ताङको कोबाङमा २०१८ असार १८ गते जन्मिनुभएका गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ । गौचनको गत कात्तिक २८ गते राति काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।
उहाँ नेपाली कांग्रेसका तर्फबाट २०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेश सभा अर्थ तथा विकास समितिको सदस्य हुनुहुन्थ्यो ।
गौचन राजनीतिसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । गौचनको आज नै काली गण्डकीको दोभानमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ । गौचनका एक छोरा र एक छोरी हुनुहुन्छ ।
शवयात्रा पछि कालिगण्डकी घाटमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न संविधानसभा सदस्य नरदेवी पुन,रेशमबहादुर बानियाँ,प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा,गण्डकी प्रदेश सभाका सदस्य रेशम जुग्जाली, हरिबहादुर भण्डारी,भक्त कुँबर,जिसस प्रमुख राजकुमार थापा,प्रमुख जिल्ला अधिकारी,जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम् सुरक्षाकर्मी लगायत उपस्थिति हुनुभएको थियो ।