नयाँ पदमार्ग पहिचान

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ बैशाख/ समुदायको पहलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ मा रहेको करबाकेलीलाई केन्द्रित गरेर नयाँ पर्यटकीय पदमार्ग पहिचान भएको छ ।

Karbakeli Eco Trakeकरबाकेली पर्यटन ब्यवस्थापन समितिले बेनी, कराबाकेली, पुनहिल हुदै कास्कीको बिरेठाँटीलाई समेटेर करबाकेली ईको ट्रेकको पहिचान गरेको म्याग्दी उद्योग वाणिज्य संघले शनिबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो ।

बैशाख पहिलो हप्ता पदमार्गको स्थलगत अध्ययन गरेर फर्कीएको कम्सेप्ट नेपालका विज्ञ र प्राबिधिकहरुको टोलीले नक्सा, वृत्तचित्र, पोस्टर, क्यालेन्ण्डर, वेबसाईट र बुकलेट तयार पार्ने काम गरिरहेको करबाकेली पर्यटन ब्यवस्थापन समितिका सल्लाहकार चामबहादुर पुनले बताउनुभयो । पदमार्गको अध्ययनका लागि वडाको प्रस्तावमा गाउँपालिकाले पचास हजार रुपैया बजेट उपलब्ध गराएको थियो ।

पदमार्ग सुधार गर्ने र संकेत चिन्ह राख्ने काम सुरु गरेको समितिले आगामी जेठ पहिलो हप्ता काठमाडौमा पर्यटन ब्यवसायीहरुलाई भेला गरेर पदमार्ग सुरु भएको जानकारी गराउने तयारी गरेको छ । पाँच देखि छ दिनमा यो पदमार्गको भ्रमण गर्न सकिन्छ ।

पुनहिल देखि दक्षिणी भेकमा रहेका प्राकृतिक, सांस्कृतिक र ऐतिहाँसीक सम्पदाको संरक्षण र परिचालन गरि पर्यटन विकास, ग्रामिण अर्थतन्त्रमा सुधार र रोजगारी सिर्जना गर्ने उद्देश्यले पदमार्ग सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष यामबहादुर पुनले बताउनुभयो । दैनिक दुई हजार रुपैया खर्च आवश्यक पर्ने यस पदमार्ग क्षेत्रमा होटल र सामुदायीक लजको सुबिधा छ ।
आसपासका बस्तीमा घरबास सञ्चालन गर्ने योजना छ । बेनी, गलेश्वर, मल्लाज, बाँसखर्क, महभिर, करबाकेली, रिमा, औला, काफलडाँडा, राम्चे, नागी, फुलबारी, फलामेडाँडा, फुलबारी, पुनहिल, घोडेपानी, उल्लेरी, तिखेढुङ्गा, बिरेठाटी क्षेत्रलाई समेटेको पदमार्ग अन्तरगत अन्य चार वटा सहायक पदमार्ग रहेका छन् ।

पुन समुदायका कुल देवता करबाकेली बाबाको अवसान भएको रामचन कुलचन डाँडामा समुदायले राज्यको सहयोग बिना दुई करोड रुपैया भन्दा बढी लगानी गरेर कराबाकेलीको थान, पदमार्ग, सभाहल, सामुदायीक लज, पुजा स्थल निर्माण र मुर्ती राखेका छन् । पुन थरका मगर समुदायको जातीय पहिचान झल्कने संग्रहालय स्थापनाको तयारी भएको छ ।
४५ लाख रुपैयाको लागतमा भवन निर्माण र १५ लाख रुपैयाको सामान जुटाएर आगामी असोजभित्र संग्रहालय स्थापना गर्ने सल्लाहकार पुनले बताउनुभयो । संग्रहालयमा पुन समुदायले दैनिक जिवनयापनमा प्रयोग गर्ने, कला, संस्कृती झल्कने सामाग्री संगह गरेर राखिने भएको छ । पुन समुदायको कला संस्कृती, हिमाल, सुर्योदय, ग्रामिण जिवनशैली, वनजंगल, झरना, वन्यजन्तु, पक्षी, कोलाहलमुक्त एकान्त वातावरण पदमार्गको बिशेषता हुन् ।
म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर आगामी यामदेखि करबाकेली ईको टे«क सञ्चालन गरिने म्याग्दी उद्योग वाणिज्य संघका दितृय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । संघका कार्यबाहक अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता र महासचिव लिलाराम गौतमको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो