विकल्प न्यूज/जलजला
बैशाख २१ गते । नेकपा एमालेबाट बिजयी भएका जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जनताको अपेक्षा र चाहना बमोजिम काम गर्न पार्टीले निर्देशन दिएको छ । नेकपा एमाले पर्वत स्थानीय विकास विभागले जलजला गाउँपालिकामा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचित जनप्रतिनिधिहरुले जनादेश अनुसार काम गरि पार्टीले लिएको नीतिलाई सफल पार्नुपर्नेमा जोड दिएका थिए ।
लोकतन्त्र दिवसको अवसरमा आयोजित पार्टी र जनप्रतिनिधिको सम्बन्ध र सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दैै पार्टीको प्रदेश ४ का संगठन कमिटिका सदस्य एवम् जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासामु उदाहरणीय भएर कार्यसम्पादन गर्नुपर्ने जोड दिनुभयो । निर्वाचनमा गरेका प्रतिवद्धतालाई स्मरण गर्दै जनअपेक्षा अनुसार स्थानीय तहमा नीति र योजना निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा स्थानीय विकास विभागका अध्यक्ष तथा पार्टीका उपसचिव गोविन्द गिरी(पहाडी)ले पार्टीले स्थानीय तहदेखि संघीय सांसदसम्म हाँसिल गरेको बिजयले थप जिम्मेवार बनाएको बताउँदै यस्तो अवस्थामा पनि जन चाहना अनुसारका काम गर्न नसकेमा जनताले माफी नदिने बताउनुभयो । उहाँले पार्टीको घोषणापत्र र नीति अनुरुप काम गर्न निर्देशन दिनुभयो । जनताले दिएको मतलाई अपमान गर्ने छुट कसैलाई नभएको उहाँको भनाई थियो ।
उहाँले पार्टी भन्दा ठुलो जनप्रतिनिधि हुन नसक्ने बताउँदै पार्टीका मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीले टिकट दिएर चुनाव जित्ने त्यसपछि पार्टी हित विपरित काम गर्ने छुट कसैलाई छैन उहाँले भन्नुभयो । उहाँले पार्टी रहेमात्र जनप्रतिनिधि रहने भएकाले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश ४ संगठन समितिका सदस्य यज्ञप्रसाद सुवेदी, जिल्ला उपाध्यक्ष भक्त कुँबर, जिसस उपप्रमुख यामकुमारी राना,जलजला संगठन कमिटिका संयोजक लालबहादुर अधिकारी,उपसंयोजक टुङगनाथ शर्मा,जिल्ला कमिटिका पूर्व उपसचिव उदय सुवेदी,अनेमसंघकी जिल्ला सचिव धनकुमारी सुवेदी, वुद्धिजिवी परिषदका केन्द्रिय सदस्य प्रेम शुसिल लगायतले विचार व्यक्त गरेका थिए ।
नेकपा एमाले स्थानीय विकास विभागका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जलजला गाउँपालिकामा रहेका पार्टीका जिल्ला कमिटि सदस्य,गाउँपालिका संगठन कमिटिका सदस्य, वडा कमिटि तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जलजलामा रहेका नौ वटै वडा कमिटिका अध्यक्ष र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले गाउँपालिका र वडास्तरमा भएका विकास निर्माण र समस्याका वारेमा धारणा राखेका थिए । कार्यक्रमको संचालन जिल्ला कमिटि सदस्य लोकनाथ रेग्मीले गर्नुभएको थियो ।