विकल्प न्यूज/बेनी
बैशाख २१ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को यहि बैशाख ३० गते देखि औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ ।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीद्धारा भ्रमण वर्षको उद्घाटन हुने कार्यक्रम तय भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिनुभयो ।
म्याग्दीको सदरमुकाम बेनीमा विशेष कार्यक्रमका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिने उवासंघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभएको छ । उद्घाटनका दिन विभिन्न जातजातिका झाँकी,भेषभूषा सहित बजारमा ¥याली निकालिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
म्याग्दीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निजी क्षेत्रले स्थानीय तह र सरोकारवाला निकायहरुको समन्वयमा भ्रमण वर्षको आयोजना गर्न लागेको हो ।