म्याग्दीको विकासमा ध्यान दिन सांसद केसीको माग

विकल्प न्यूज/बेनी
बैशाख २० गते । binod kcम्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले प्रदेश नम्बर ४ को सरकारले सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा म्याग्दीका सम्भावनायुक्त क्षेत्रहरुलाई उपेक्षा गरिएको भन्दै संसदको ध्यानकर्षण गराउनुभएको छ । विहिवार बसेको संसद बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि धारणा राख्दै साँसद केसीले आर्थिक समृद्धि र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर ल्याएको बजेट सकरात्मक रहेपनि म्याग्दीका सम्भावनायुक्त क्षेत्रहरुलाई सम्बोधन नभएको भन्दै संसदको ध्यानकर्षण गराउनुभएको हो ।

जिल्लाको धौलागिरि आईसफल, राउण्ड धौलागिरि, धौलागिरि सेन्चुरी, नारच्याङ– अन्नपूर्ण आधारशिविर लगायतका दर्जनौँ नयाँ पदमार्गहरुको पूर्वाधार निर्माणको लागि निती तथा कार्यक्रममा समावेश नगरिनु त्रुटीपूर्ण रहेको भन्दै आगामी आर्थिक बर्षको बजेटमा सम्बोधन गर्न माग गर्नुभयो ।
जिल्लामा प्राकृतिक औषधालयको रुपमा विकास भैरहेका दर्जनौँ तातोपानी कुण्डहरुको संरक्षण र पूर्वाधार निर्माणमा समेत बजेटले नसमेटीएको भन्दै उहाँले संसद मार्फत सरकारको ध्यानकर्षण गराउनुभएको थियो । साँसद केसीले रघुगंगा गाउँपालिका–२ मा रहेको खरी खानीलाई समेत उद्योगको रुपमा सञ्चालन गर्नुपर्ने आबश्यकता औँल्याउनुभएको थियो ।

बुधवार सार्वजनिक गरिएको आर्थिक बर्ष २०७४÷७५ को बजेट तथा कार्यक्रममा गलेश्वर, पुनहिल, घोडेपानी, अन्धगल्छी लगायतका पर्यटकीय एवम् धार्मिक गन्तव्यहरुमा पूर्वाधार विकास र व्यवस्थित पर्यटन विकासको लागि निति तथा कार्यक्रममा समावेश गरिएको छ । उक्त बजेटमा बेनी–मालढुंगा सडकलाई ४ लेनको बनाउने डिपिआरको लागि बजेटको व्यवस्था गरिएको उल्लेख छ ।