जलजलामा फोहोर व्यवस्थापनको समस्या

विकल्प न्यूज/बेनी
बैशाख १३ गते ।  Jaljala Fohor Problemजलजला गाउँपालिकाको बजार क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या देखिएको छ । तिब्र रुपमा बजारीकरण हुदै गएको बगरफाँट, वारीबेनी, लामाखेत, मोहनचोक, मिलनचोक, लस्ती बजारमा फोहोर व्यवस्थापन चुनौती बनेको छ ।

बजारका संकलन भएको फोहोर सडक, नदीको छेउछाउमा फाल्ने र आगो लगाउने गर्नाले स्थानीयबासी, पैदलयात्री र सवारी साधनबाट आवत जावत गर्नेहरु समस्यामा परेका छन् ।

बगरफाँटको फोहोर कालीगण्डकी किनार र वस्ती वरपर, वारीबेनीको बेनी–मालढुङ्गा सडकको छेउ, मोहनचोक र मिलनचोक बजारको फोहोर लुङ्दी खोलाको किनारमा फालीदै आएको छ । जथाभावी रुपमा फालीएको फाहोरको दुर्गन्ध र त्यसलाई जलाउँदा निस्कने दुषित धुवाँका कारण समस्या भएको मोहनचोकका दिपेन्द्र मल्लले बताउनुभयो ।

मोहनचोकमा मल्लले सञ्चालन गरेको कुखुरा फार्म भन्दा पारीपट्टी मिलनचोक बजार व्यवस्थापन समितिले फोहोर फाल्ने र जलाउने गरेको छ । लापरबाही तरीकाले फोहोर फाल्दा वरपरका बासिन्दाको स्वास्थ्यमा असर पर्नुका साथै फार्ममा पालीएका कुखुराहरु मरेको मल्लले गुनासो गर्नुभयो ।

बजार व्यवस्थापन समिति, वडा र गाउँपालीकाका जनप्रतिनिधिहरुलाई गुनासो गर्दा कुनै सुनुवाई नभएको उहाँको भनाई छ ।

जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बजार क्षेत्रको एकिकृत रुपमा फोहोर व्यवस्थापन गर्ने सोचेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा फोहोर व्यवस्थापनका लागि पन्ध्र लाख बिनियोजन गरेपनि पर्याप्त नभएकाले आगामी वर्ष पर्याप्त बजेटको व्यवस्था गरेर योजना अघि बढाउने मल्लले बताउनुभयो ।

बगरफाँटदेखि लस्ती बजारको फोहोर एकै ठाउँमा व्यवस्थापन गर्नका लागि जग्गाको खोजी भैरहेको समेत अध्यक्ष मल्लले बताउनुभयो ।