बाम एकतामा समृद्धिको सपना नदेख्नुस्ः वरिष्ठ नेता पौडेल

राकेश शर्मा/बेनी
बैशाख ५ गते । ramchandra poudel 2नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाम एकतामा समृद्धिको सपना नदेख्न आग्रह गरेका छन् । निर्वाचनमा मतदातालाई झुक्याउन एमाले र माओबादीले पार्टी एकताको नाटक मञ्चन गरेको भन्दै उनले दुई कम्प्युनिष्ट पार्टी कुनै पनि हालतमा एक हुन नसक्ने दाबी गरे ।

‘निर्वाचनमा एउटै भयौँ भनेर भोट मागे, सोझासिधा जनताले पत्याएर भोट पनि दिए, तर निर्वाचन सम्पन्न भएको ६ महिनासम्म पनि नानाथरी नाटक गरिरहेका छन्’, उनले भने, ‘वैशाख ९ को भाका पनि सर्ने देखिएको छ ।’

नेपाली काँग्रेस म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै नेता पौडेलले भने, ‘काँग्रेसकै नेतृत्वमा शान्ति र संविधान निर्माणको अभियान सुरु भएको हो ।
०६२/०६३ पछि चार कम्प्युनिष्ट प्रधानमन्त्रीले गर्न नसकेको काम स्वर्गीय सुशील कोइरालाले गर्नुभयो । संविधान कार्यान्वयन पनि हाम्रै नेतृत्वमा भयो ।’ कम्प्युनिष्टहरुले विगत देखि नै झुटको राजनीति मार्फत सत्यलाई छिपाउने प्रयास गरिरहेको भन्दै वरिष्ठ नेता पौडेलले इमानको राजनीति गर्ने भए पार्टी एकता गरेर पाँच बर्षसम्म ढुक्कले सत्ता सञ्चालन गर्न चेतावनी समेत दिए । ‘जनता समृद्धि चाहान्छन्, चुनाबमा तपाँईहरुले देखाएका सपना पूरा गर्ने बेला आएको छ’, उनले भने, ‘तर, वर्तमान सरकार र कम्प्युनिष्टहरुमा आफ्नो आश्वासन पूरा गर्ने हैसियत देखिएन । पाँचबर्षपछि फेरि जनताले काँग्रेसै ठिक भन्नेछन् ।’

तीनै तहको निर्वाचनमा नराम्रो हार व्यहोरेको काँग्रेसले वाम एकतालाई देखाएर गल्ती लुकाउन नहुने उनको भनाई थियो । ‘उनीहरु बेठिक छन्, तर, हाम्रो नेतृत्वले त्यसलाई चिन्न सक्नुभएन, पार्टीमा योगदान, क्षमता र लोकप्रियताको सम्मान भएन’, उनले भने, ‘त्यसैले हामी पराजित भयौँ, यसको अब तल्लो तहबाटै निर्मम समिक्षा जरुरी छ ।’ निर्वाचनमा पार्टी पराजित भए त्यसको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले विगतमा कृष्णप्रसाद भट्टराई देखि गिरिप्रसाद कोइराला सम्मले त्यो नैतिकता देखाएको स्मरण गरे ।

‘तर, वर्तमान हाम्रो सभापति शेरबहादुर देउवा जी ले कुनै नैतिक जिम्मेवार लिनु भएन, मैले तपाँईले अब त्याग गर्नुस्, नेतृत्वमा नयाँलाई अवसर दिनुस् भन्दा पनि सुन्नुभएन’, उनले भने, ‘काँग्रेस अब नेता र नेतृत्वको होइन्, जनताको स्वार्थसँग जोडिन सिक्नुपर्छ ।’ निर्वाचनमा काँग्रेसले पराजित भए पनि काँग्रेसको सिद्धान्त र विचार विजय प्राप्त गरेको उनको दाबी थियो । संसदीय व्यवस्था, लोकतान्त्रिक समाजबाद, स्वतन्त्र न्यायलय, व्यक्तिको स्वतन्त्रता जस्ता आधारभूत विषयहरु संविधान समेटिनु र त्यसको विरुद्धमा रहेका दलहरु सोही परिपाटीको मुल प्रवाहमा होमिएको उनको भनाई छ ।

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य बृन्दा राणाले वर्तमान सरकारले श्वेतपत्र मार्फत देशबासीलाई निराशा मात्र जगाएको बताए । ‘अर्थमन्त्रीले संसद मार्फत जारी गरेको श्वेतपत्र वेठिक छ, राष्ट्र वैंकमा सोही बेला ३ अर्ब बजेट थियो, २० अर्ब भन्सार उठिरहेको छ’, उनले भनिन्, ‘यो यथार्थलाई छाडेर देश टाँट पल्टियो भन्नु सरकारको हतास मानसिकता हो ।’

नेपाली काँग्रेस म्याग्दीका सचिब एबम् नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रममा निवर्तमान सांसद रेशम बानियाँ, पूर्व सहसभापति नेत्र बहादुर महत, जिल्ला सदस्य एवम् पूर्व पार्टी सचिब माधब प्रसाद रेग्मी, गाउँ कार्य समितिका सभापतिहरुको तर्फबाट देविस्थान गाउँ कार्य समितिका सभापति एवम् प्रदेशसभाका उम्मेदवार क्या.अमलाल फगामी, महासमिति सदस्य एबम् अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमबहादुर पुन, नेपाल महिला संघ म्याग्दीकी सभापति बिमला गौचन, महाधिवशेन प्रतिनिधी तथा तरुण दल म्याग्दीका सभापति मुकुन छन्त्याल लगायतले जिल्लाको समग्र अवस्था र समस्याबारे जानकारी गराएका थिए ।

सोही कार्यक्रममा नेपाली काँग्रेसको नवनिर्मित विपी स्मृति भवनलाई अमर मावि चिमखोलाका पूर्व प्रधानाध्यापक बम बहादुर विश्वकर्माले १० हजार रुपैयाँ सहयोग गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका सचिब क्या. मिनबहादुर कार्कीले गरेका थिए ।