गुठी जग्गाको समस्या समाधान गर्न सांसद केसीको माग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ चैत । binod kc 3म्याग्दीको प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित सांसद बिनोद केसीले गुठी जग्गाको समस्या समाधान गर्न माग गर्नुभएको छ ।

प्रदेश ४ को सोमबार बसेको संसद बैठकको शून्य समयमा सांसद केसीले अन्नपूर्ण गाउँपालीका १ दोवा, रघुगंगा १ बेग, २ भगवती र ३ पिप्लेको गुठी जग्गाको समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

तत्कालीन राजपरिवारले मुस्ताङको मुक्तिनाथ मन्दिर सञ्चालन र त्यहाँ जाने तिर्थयात्रीको भोजनका लागि आवश्यक पर्ने खाद्यान्न जुटाउन दोवा, बेग, भगवती र पिप्लेका बासिन्दाले उपभोग गर्दै आएको व्यक्तिगत जग्गालाई गुठी बनाएका थिए ।

समय परिवर्तनसंगै भेटि लगायतका आम्दानीबाट मन्दिर सञ्चालन हुन थालेपछि खाद्यान्नको प्रयोग हुन छाडेको वर्षो भएको छ । वि.स २०५२ सालमा तत्कालीन सरकारले रैकरका लागि तोकेको समयसिमामा छुटेका गुठीयारहरुलाई प्रदेश सरकारले निशूल्क रैकर गर्ने व्यवस्था मिलाउन सांसद केसीले माग गर्नुभएको हो ।

निशूल्क रैकर गर्ने अवस्था नभए न्युनतम शूल्क लिएर रैकर बनाउने अवसर दिनुपर्ने उहाँको तर्क छ । गुठीमा भएका कारण बर्षौदेखि उपभोग हुदै आएको घरजग्गा कानुनी हिसावले किनबेच र अंशबण्डा हुन सकेको छैन् । स्थानीयबासी पछिल्लो समय गुठीका कारणले बैङ्कीङ सुबिधाबाट समेत बञ्चित भएका छन् ।

गुठी जग्गाको समस्या समाधानका लागि रघुगंगा गाउँ कार्यपालिकाको पहिलो बैठकले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । गुठी जग्गा सो क्षेत्रका बासिन्दाको प्रमुख समस्या रहेको छ ।

गुठी जग्गा व्यवस्थापनको जिम्मेवारी संबिधानले प्रदेश सरकारलाई दिएको छ । प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत नीतिगत ब्यवस्था गर्न संसदमा आवाज उठाएको सांसद केसीले बताउनुभयो ।