राममन्दिरमा रामनवमी महा महोत्सव सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १३ चैत । IMG_8632जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा सोमबार श्रीमद् भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञ सम्पन्न भएको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत ४ गतेबाट सुरु भएको महोत्सवको जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्लको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

अध्यक्ष मल्लले राममन्दिरको विकासका लागि गाउँपालीकाको तर्फबाट पाँच लाख रुपैया सहयोगको घोषणा गर्नुभयो । जलजला गाउँपालीकाको १, २ र ३ नम्बर वडाका अध्यक्षहरु तुलसी रेग्मी, गोविन्द खत्री र रवी भण्डारीले राममन्दिरको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

राममन्दिर सेवा आश्रमका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, चित्रराज रेग्मीको सञ्चालन र लोकनाथ रेग्मीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । महामहोत्सवका क्रममा करिब अठार लाख रुपैया सहयोग जुटेको जनाइएको छ ।

पण्डीत कमलनयन गौतमले भागवत बाचन गर्नुभएको महायज्ञमा अयोध्या, मथुरा, बृन्दावनबाट आउने अभिनय टोलीले प्रस्तुत गरेको भगवानका दिब्य रामलिला र कृष्ण लिलाका झाँकीहरु बिशेष आकर्षण रहेको थियो । राममन्दिरको धार्मीक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले रामनवमी पर्वको अवसरमा महोत्सवको आयोजना गरिएको हो ।

कालञ्जर पर्वतको फेदी, राहुघाट र कालीगण्डकी नदीको संगम तथा मुक्ति क्षेत्र प्रवेशद्धार गलेश्वरको नजिकै रहेको राममन्दिरको पूर्वाधार निर्माणसंगै प्रचारप्रसार गरी धार्मीक पर्यटक भित्र्याउने महोत्सवको उद्देश्य रहेको आश्रमका सचिव चित्रराज रेग्मीले बताउनुभयो ।