सन्तोष गौतम/विकल्प न्यूज
बेनी २४ फागुन । म्याग्दीमा बिहीबार विभिन्न कार्यक्रम गरेर १०८ औ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । बेनी नगरपालिका, मंगला, मालीका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा विभिन्न वडाहरुमा स्थानीय तह, वडा कार्यालय, आमा समूह, महिला सहकारी र विभिन्न संघ संस्थाले अन्तरक्रिया, ¥याली र प्रवचन कार्यक्रम गरेर दिवस मनाएका हुन् ।
बेनी नगरपालिकाको मुल आयोजनामा बेनीमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य नरदेवी पुन र बिनोद केसीले संबिधानमा भएको अधिकार व्यवहारमा उतार्नका लागि महिलाहरु अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, महिला संगठनका नेता, कार्यालयका प्रमुख तथा प्रतिनिधि र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालको अध्यक्षता, कार्यपालीका सदस्य दुर्गा कार्की बानियाँको सञ्चालन र गौरी थापाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुले समानता, महिला शशक्तीकरण, समान कामको समान ज्याला हुनुपर्ने लगायतका विषयमा जोड दिएका थिए । औपचारिक कार्यक्रम अघि बेनी बजारमा ¥याली निकालीएको थियो ।