खडेरीले हिउँदेबाली प्रभावित

विकल्प न्यूज/बेनी
फागुन २४ गते । Khadariखडेरीका कारण गहुँ र समयमै मकै बाली लगाउन नपाएपछि बेनपा ५ पुलाचौरमा बाँझै बनेको खेत । तस्विर नवविकल्प

झण्डै पाँच महिनादेखिको खडेरीका कारण म्याग्दीमा हिउँदे खेती प्रभावित बनेको छ । गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रूपमा रहेको गहुँ,
जौ, उवा, तोरी, केराउ जस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ । गहुँ, तोरी, केराउ र हिउँदे आलुको उत्पादनमा खडेरीले असर गरेको जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अघिकृत भोजबहादुर थापाले बताउनुभयो । सिँचाईको सुबिधा भएका र हिउँ परेका माथिल्लो क्षेत्र बाहेकका ठाउँमा लगाइएको हिउँदेबाली फस्टाउन सकेका छैनन् ।

वर्षा नहुँदा कृषकले ठूलो नोक्सानी व्यहोर्नु पर्ने अवस्था आएकोमा चिन्तित भएका छन् । सिँचाइको सुविधा भएका ठाउँमा पनि गत वर्षको जस्तो उत्पादन हुन सकेको छैन् । आकाशे पानीको भरमा खेती लगाउने ठाउँमा यसपाली खेतीबाली नराम्ररी प्रभावीत भएको बेनपा ५ का कृष्णबहादुर बानियाँले बताउनुभयो ।

खेतमा मकै र उच्च पहाडी क्षेत्रमा आलु लगाउने सिजन सुरु भएको छ । तर जमिनमा चिस्यान नभएकाले लगाएको बाली उम्रनै नसक्ने अवस्था रहेको कृषकहरुले बताएका छन् । दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलीएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन छ ।

खेतीको लागि प्रयोग भएको १९ हजार ४९८ हेक्टर क्षेत्रफल जमिन मध्य २२ प्रतिशतमा व्यवस्थित र नियमित सिँचाई सुबिधा उपलब्ध छ । अधिकांश पहाडी र भिरालो भुवनोट रहेको म्याग्दीका धेरै ठाउँमा आकाशे पानीको भरमा खेती लगाउने गरीएको छ ।

वर्षा नहुँदा तरकारीबालीमा विभिन्न किसिमको रोग कीराको प्रकोप बढेको छ । हिउँदे बाली थन्क्याएर बर्खे बालीका रूपमा मकै र कोदो लगाउने बेलासम्म पनि पानी नपर्दा बाँझो जोत्न नपाएको मंगला ३ का कृषक मोहनलाल कडेलले बताउनुभयो ।