सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ फागुन ।
ऐतिहाँसीक, धार्मीक तथा पर्यटकीय महत्वको पर्वतको जलजला गाउँपालिका २ मा रहेको राममन्दीरको प्रर्वद्धनमा स्थानीयले सक्रियता देखाएका छन् ।
कालञ्जर पर्वतको फेदी, राहुघाट र कालीगण्डकी नदीको संगम तथा मुक्ति क्षेत्र प्रवेशद्धार गलेश्वरको नजिकै रहेको राममन्दिरको पूर्वाधार निर्माणसंगै प्रचारप्रसार गरी धार्मीक पर्यटक भित्र्याउन राममन्दीर सेवा आश्रम मार्फत पहल गरिएको हो ।
राष्ट्रिय परोपकार महासंघ नेपालद्धारा संरक्षित राममन्दीरमा वि.स २०६६ र २०७२ मा आयोजित महायज्ञमा दाताहरुले गरेको सहयोगबाट पाहुनाघर, भान्छाकोठा, पुजारी तथा संरक्षक निवास, पुराना भवनको जिर्णोद्धार, प्रवचन सभाहल, ढल व्यवस्थापनका लागि नाली, शौचालय, खानेपानी र तटबन्ध निर्माण गरिएको छ । पूर्वाधार निर्माणमा दुई करोड रुपैया भन्दा बढी लगानी भएको छ ।
गौशाला सञ्चालन गरिएको छ । धौलागिरी हिमालको फेदी र रिखार क्षेत्रबाट बगेर आउने राहुघाट तथा मुक्तिनाथबाट आउने कालीगण्डकी नदीको संगम, विभिन्न धर्मशास्त्रमा उल्लेखीत कालञ्जर पर्वतको फेदी, मुक्तिक्षेत्रको प्रवेशद्धार गलेश्वर नजिक रहेको तथा परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेको स्थल भएकाले राममन्दिरको प्रशस्त धार्मीक महत्व रहेको राममन्दीर सेवा आश्रममा सचिव चित्रनाथ रेग्मीले बताउनुभयो ।
मन्दिरमा दैनिक नित्य पुजा, हवन हुने गरेको छ । विश्वमा कालीगण्डकी नदीमा मात्र पाईने शालग्रामलाई संरक्षणका लागि मन्दिरमा संरक्षण गरेर राखिएको छ । राममन्दिर संरक्षण समितिको नाममा हाल २० रोपनी जग्गा छ ।
राममन्दिरको धार्मीक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आगामी चैत ४ देखि १२ गतेसम्म श्रीमद भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञ आयोजना गरिएको आश्रममा अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।
पण्डीत कमलनयन गौतमले भागवत बाचन गर्नुहुने महायज्ञमा अयोध्या, मथुरा, बृन्दावनबाट आउने अभिनय टोलीले प्रस्तुत गर्ने भगवानका दिब्य रामलिला र कृष्ण लिलाका झाँकीहरु बिशेष आकर्षण रहने उहाँले बताउनुभयो ।