पात्लेखेत गाविसको वातावरणमैत्री विपद् व्यवस्थापन योजना निर्माणको तयारी

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ८ गते ।
पहिरोको जोखिममा रहेको म्याग्दीको पात्लेखेत गाविसको वातावरणमैत्री विपद् ब्यवस्थापन योजना निर्माण गर्ने तयारी भएको छ ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले नमुनाको रुपमा म्याग्दीको पात्लेखेत र काभ्रेको चण्डनी मण्डन गाविसको वातावरणमैत्री विपद् ब्यवस्थापन योजना तयार गर्न प्राबिधिक अध्ययन सुरु गरेको छ ।

योजना निर्माणका लागि मन्त्रालयले सम्झौता गरेको परामर्शदाता कम्पनी अल्पाईन कन्सलट्यान्टका प्राबिधिकहरुले लागि प्रारम्भिक चरणको अध्ययनको काम सकिसकेको बताएका छन् ।

पहिलो चरणमा पात्लेखेतको बाद्रे पहिरोको भौगर्वीक अध्ययन र स्थानीयसंग छलफल गरेको प्राबिधिकहरुको टोलीले बुधबार बेनीमा जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रमुख र राजनितिक दलका नेताहरुसंग पनि अन्तरक्रिया गरेको छ ।

पहिरोको कारण, वातावरणीय असर, थप जोखिमको अवस्था र नियन्त्रण गर्न सकिने उपायहरुको विषयमा स्थलगत अध्ययन तथा सरोकारवालाहरुसंग छलफल गरेर मन्त्रालयलाई यसै महिनाभित्र प्रतिवेदन बुझाउने परामर्शदाता कम्पनीका वातावरणवीद् श्यामप्रसाद अधिकारीले बताउनुभयो ।

भुगर्वबिद् डाक्टर बसन्तराज अधिकारीको नेतृत्वमा वातावरणविद् अधिकारी र सिभिल ईञ्जिनियर उदयराज न्यौपानेको टोलीले चार दिनसम्म पहिरोको अध्ययन तथा स्थानीयसंग छलफल गरिसकेको छ । थप अध्ययनको काम पनि भैरहेको छ ।

प्रारम्भिक अध्ययन अनुसार कमेरे माटो रहेको भिरालो पाखोमा बस्तीको भल र बर्खा याममा खोल्साको पानी ब्यवस्थापन नहुँदा पात्लेखेतमा पहिरो गएको पाइएको ईञ्जिनियर न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार पात्लेखेत पहिरो नियन्त्रणका लागि भल ब्यवस्थापन, ग्याविन पर्खाल र बायो ईञ्जिनियरीङ गर्नुपर्ने देखिएको छ । टोलीले लागत सहित तयार पार्ने प्रतिवेदनको आधारमा सरकारले दातृ निकायलाई अनुरोध गरेर योजना कार्यान्वयन गर्ने वातावरणविद् अधिकारीले बताउनुभयो ।

पात्लेखेतको बान्द्रेखाल्टी भन्ने ठाउँमा पाँच वर्षअघि सुरु भएको पहिरोका कारण सात घरपरिवार विस्थापित भएका छन भने सो गाविसको ३ र ४ नम्बर वडाका ५० घरका साथै संयौ रोपनी खेतियोग्य जमिन जोखिममा परेको छ ।

पात्लेखेतमा निर्माण हुने वातावरणमैत्री विपद् ब्यवस्थापन योजना सफल भएमा म्याग्दीका अन्य पहिरो नियन्त्रणका लागि पनि उपयोगी बन्न सक्ने म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले बताउनुभयो ।

मन्त्रालयले म्याग्दीमा पहिरोको धेरै समस्या देखिएकाले दिगो समाधानको उपाय खोज्न नयाँ किसीमको योजना तयार गर्न लागेको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो ।