छुसाङको पुल निर्माण कार्य अघि बढाउन सांसद तुलाचनको पहल

सन्तोष गौतम/विकल्प न्यूज
मुस्ताङ १६ फागुन ।

IMG_2193मुस्ताङको कालीगण्डकी नदीमा अलपत्र परेको मोटरेबल पुल निर्माण कार्यलाई अघि बढाउन जनप्रतिनिधिले पहल थालेका छन् ।तिब्बतको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक अन्तरगत बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालीका ३ छुसाङमा निर्माणाधिन मोटरेबल पुल विगत दुई वर्षदेखि अलपत्र अवस्थामा छ ।

पुल निर्माणका क्रममा कालीगण्डकीको धार परिवर्तन भई बस्तीतर्फ कटान गर्न थालेपछि छुसाङका बासिन्दाले बस्ती संरक्षण बिना पुल निर्माण कार्यलाई अघि नबढाउन दवाव दिएका थिए ।

मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले प्रभावीत क्षेत्रका बासिन्दा, स्थानीय विकास मन्त्रालय अन्तरगतको डोलीडार आयोजना र निर्माण व्यवसायीबीच सहमती कायम गरेर पुल निर्माण कार्यलाई अघि बढाउन पहल गर्नुभएको हो ।

काठमाडौ स्थित डोलीडारको कार्यालयमा मंगलबार भएको छलफलमा पुल निर्माणसंगै बस्ती संरक्षणको पनी काम गर्ने सहमती भएको सांसद तुलाचनले बताउनुभयो । “कार्य क्षेत्रमा काम गर्ने वातावरण बनाएर पुल निर्माण कार्यलाई तिब्रता दिने सहमती भएको छ” तुलाचनले भन्नुभयो “यो पुल बनेपछि जोमसोम–कोरला सडकमा यातायात सेवा सहज हुन्छ ।”
डोलीडार मार्फत ७८ मिटर लम्बाईको मोटरेबल पुल निर्माणका लागि लुम्बीनी बिल्डर्ससंग ४ करोड ७३ लाख ८८ हजार ६८ रुपैयामा २०७३ असार ११ गते ठेक्का सम्झौता भएको थियो । पुल निर्माणका लागि तीन वटा पिल्लर ठडाउने काम सकिएको छ ।

डोलीडारको स्थानीय पुल शाखाका प्रमुख माधव भट्टराईले ठेक्का सम्झौताको म्याद थप गरिने बताउनुभयो । बस्ती संरक्षण र पुलको चौडाई बढाउने उहाँले बताउनुभयो । लुम्बीनी बिल्डर्सका कार्यकारी निर्देशक लङकबहादुर केसीले कार्यक्षेत्रमा सहज वातावरण बनेपछि जति सक्दो छिटो पुल निर्माण सम्पन्न गर्न प्राथमिकता दिने बताउनुभयो ।

छुसाङमा मोटरेबल पुल नहुँदा हाल जोमसोम देखि उपल्लो मुस्ताङ जाने आउने सर्वसाधारण, आन्तरीक तथा बाह्य पर्यटक, दैनिक उपभोग्य, खाद्यान्न, निर्माण सामाग्री ढुवानीमा समस्या भएको छ । कालीगण्डकी नदीबाट सवारी साधन तार्नुपर्ने अवस्था छ ।

मोटरेबल पुल बनेपछि जोमसोम देखि उपल्लो मुस्ताङ जोड्ने सडकमा नियमित सवारी सञ्चालन भई आवत जावत र ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ ।