कुहुँमा अनौठो मुर्ती भेटीयो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ फागुन । Kuhun Murti (2)

म्याग्दीको मंगला गाउँपालिका १ कुहुँमा अनौठो नागको मुर्ती भेटीएको छ । कुहुँ गाउँको शिरानमा सर्प आकारको ढुङ्गाको मुर्ती भेटिएको हो । कुहु देखि आधा घण्टा पैदल हिडेपछि पुगीने उक्त ठाउँमा मुर्ती भेटिएपछि पुजाआजा र हेर्नेको घुँईचो लागेको वडा अध्यक्ष डेगबहादुर राम्जालीले जानकारी दिनुभयो ।

घाँस दाउरा काट्न गएकी एक महिलाले खोल्सामा पानी खान जाने क्रममा एक हप्ता अघि मुर्ती देखेपछि गाउँलेलाई जानकारी गराउनुभएको थियो । नाग देवताको जस्तो देखिने मुर्तीको शिरबाट प्रत्येक ३ सेकेण्डमा पानीको थोपा खस्ने गरेको छ ।

वरपर पानीको स्रोत नभए पनि नियमित थोपा चुहिईरहनु आश्यजनक रहेको वडा अध्यक्ष राम्जालीले बताउनुभयो । भित्तामा ठाडो परेको सर्पको टाउको आकारको मुर्ती देखेपछि धामी झाँक्रीहरु काम्ने गरेका छन् ।

स्थानीयले सिद्धीको मुर्ती उत्पत्ती भएको विश्वासका साथ धजा बाधेर धुपवत्ती संगै पुजाआजा गरेका छन् । मुर्तीको संरक्षण र प्रचारप्रसार गरी धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्ने सोच बनाएको वडा अध्यक्ष राम्जालीले बताउनुभयो ।