जनप्रतिनिधि र विषयगत कार्यालयहरुबीच योजना तर्जुमाको विषयमा छलफल

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १४ फागुन । IMG_6890
आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट तथा कार्यक्रम तर्जुमाको विषयमा सोमबारदेखि बेनीमा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा स्थानीय तह र विषयगत कार्यालयहरुबीच आगामी आर्थिक वर्षको योजना तर्जुमाका क्रममा समन्वयको वातावरण बनाउन दुई दिने कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति, बेनी नगरपालिका, धौलागिरी, मालीका, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालीका र बेनी नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

चालु आर्थिक वर्षको योजना तर्जुमाका क्रममा समन्वयको अभावमा स्थानीय तहले पूर्वाधार योजनालाई मात्र प्राथमिकता दिएको, विषयगत कार्यालयको बजेट कटौटी भएको, आधारभुत सेवा सुबिधा प्रभावित बनेकाले आगामी आर्थिक वर्षमा यस्तो अवस्था आउन नदिने वातावरण बनाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताउनुभयो । IMG_6898कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले स्थानीय तहहरुले भौतिक पूर्वाधारसंगै आफ्नो क्षमत्ता विकास, व्यवस्थापन र आधारभुत सेवा तथा आवश्यकतालाई प्राथमिकता दिएर योजना तर्जुमा गर्नुपर्ने बताउनुभयो ।

आर्थिक ऐन र कार्यबिधीलाई अपनाएर सबैसंग समन्वय गरेर योजना, कार्यक्रम तथा बजेटको तर्जुमा तथा कार्यान्वयनको वातावरण बनाउनुपर्ने प्रजिअ अधिकारीको भनाई थियो । कोष तथा लेखा नियन्त्रक छवीन्द्र बेल्वासेले बजेट खर्च गर्दा आर्थिक र खरिद ऐनको पालनाप्रती सचेत रहन आग्रह गर्नुभयो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, वन, भुसंरक्षण, सिचाई विकास, प्राबिधिक, कृषि, पशु विकास कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले कार्यालयले विगतमा सञ्चालन गरेका योजनाको विषयमा जानकारी गराउनुभएको थियो । स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुले अधिकार कार्यान्वयनका लागि जनशक्तिको आवश्यकता रहेको बताएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षता र सूचना अधिकृत पदम भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । जिसस प्रमुख केसीले एक अर्का निकायबीच समन्वयको वातावरण बनाएर योजना कार्यान्वयनमा विभिन्न चरणमा सहजिकरणका लागि पहल गरिएको बताउनुभयो ।