ठाकुरप्रसाद आचार्य,हरिकृष्ण गौतम /विकल्प
म्याग्दी,पुस २ गते ।
म्याग्दीको राखुभगवती–७ हुमेनटोलमा एउटा परिवार छ । हुन पनि पेसाले पुरेत्याईं गर्ने पृथ्वीलाल रिजालको ३५ वर्षअघिसम्म शान बेग्लै थियो । उतिबेला जातले पनि उपाध्याय ब्राम्हणको छोरा बेद, चण्डी, रामायण लगायतका धार्मिक कर्मकाण्डबारे जानकार रिजालका अघि गाउँमा कसैले ठाडो शिर गर्न सक्दैनथे । तिन छोरी र दुई छोराका मालिक पृथ्वीलाल र उनकी धर्मपत्नी हरिकला रिजाल भनेपछि गाउँमा सबैले सक्दो सम्मान गर्थे ।
तर, समय एकनास कहाँ हुन्छ र ? ४० वर्षअघि जन्मिएकी जेठी छोरी चेतकुमारीको जव उमेर बढ्दै गयो रिजाल दम्पतीमा चिन्ताको बिजारोपण शुरु हुन थाल्यो । बोल्ने र पढ्नेलेख्ने समय पुग्दा पनि चेतकुमारीको चेतनामा बिस्तार नभएपछि उनिहरु एकाएक झस्किन थाले । दोस्रो सन्तानका रुपमा जन्मिएका भुवानीश्वर सामान्य भए पनि तेस्रो सन्तानका रुपमा जन्मिएकि पदमकुमारी सुताएको ठाउँबाट हलचल गर्नै नसक्ने हुँदै गएपछि रिजाल परिवारमा दुःख र पीडाका दिन शुरु भए । तत्कालिन समयमा बिभिन्न भुतप्रेत लागेको विश्वासमा चिनेजानेका सबै धामीझाँक्रीको शरण लिन गए पनि बीसको उन्नाइस नभएपछि अहिलेसम्म यो परिवार पीडामै तड्पिएको छ ।
चार दशकअघिदेखि अहिलेसम्म एउटी छोरी ओछ्यानमै ‘मुढो’ जस्तै पल्टिइरहँदा यो परिवारको शिर अहिलेसम्म कहिल्यै ठाडो हुन सकेको छैन । एउटी छोरी ओछ्यानमा र अर्की छोरी शारिरिक अशक्त भएपछि रिजाल परिवारको सामाजिक प्रतिष्ठा बिचलित मात्रै भएन बुढेसकालको लठ्ठी नै भाचिएको छ ।
रिजाल घरको एउटा सानो कोठामा पदमकुमारी रिजाल ४१ वर्षदेखी ओछयानको ओछयानमै छिन् । हरिकला रिजालको कोखबाट जन्म लिएकी जेठी छोरी बहिरा र माइली छोरी ओछ्यानमा थलापरेपछि पालनपोषणमा दरार उत्पन्न भएको छ । २०३१ मा जन्मेकी पदमकुमारीका कुनैपनि अङ्ग नचलेपछि ओछ्यानमै थलापरेकी हुन् । जेठी छोरी चेतकुमारी (४७) जन्मदेखी नै बहिरा छिन् ।
कमजोर आर्थिक अवस्था भएको परिवारका दुइ छोरी अपाङ्ग भएपछि रिजाल दम्पतीले चारदशक देखी निकै कष्टकर जीवन विताउनुपरेको हो । ‘यिनीहरुको स्याहारसुसारमा दिनरात खट्नुपर्छ,’ हरिकलाले भनिन्, ‘घरबाहिर गएर केही काम गर्न पाइंदैन ।’ दुवै छोरी बेलाबेलामा विरामी हुँदा उपचारमा समेत समस्या हुने उनले बताईन् । चार दशकयता परिवारमा कहिल्यै खुसी नफर्किएपछि अब त्यो इच्छा पनि मरेको छ । कहिलेकाहिं विरामी हुँदा परिवारै रातभर जाग्राम बस्छ । नेपाल सरकारबाट ‘क’ वर्गको रातो परिचयपत्रले पाउने सुविधा बापत मासिक १ हजार रुपियाँ लिने बाहेक केहि संघसंस्था र व्यक्तिले बेलाबेलामा गर्ने केहि सामान्य सहयोगले परिवारको गर्जो टर्न सकेको छैन । दुबै छोरीको स्याहारमा खट्नुपर्दा आम्दानीको अरु स्रोत जुटाउन बृद्ध दम्पती सफल हुन सकेका छैनन् । कहिलेकाहिं पुरेत्याईबाट आउने दुइचार माना चामल र दुइचार रुपैयाँले गर्जो टर्दैन । दुबै छोरीको उपचार हुने विश्वासले ऋणधन गरेर पोखरा सम्म बिभिन्न अस्पतालमा पु¥याए पनि कुनै प्रगती नभएपछि अब ति सपना पनि सबै तुहिएका छन् ।
‘यसको गुहुमुत नसोहोरेको कुनै दिन छैन बाबु,’ गहभरी झरेका आँशु थोत्रो गुर्मैलो मझेत्रोले पुछ्दै आमा हरिकलाले भनिन्, ‘मलाई तीज, दसैं, तिहार कहिल्यै आएनन् ।’ न्यानो कपडाको अभावमा धेरैपटक चिसो भुइंमा राखेका अनुभव उनिसंग अनगिन्ती छन् । निर्वाचनका बेला एक नेताले जेठी छोरीलाई सहयोग गर्ने आश्वासन दिएपछि चुनावमा मदतान केन्द्रसम्म पु¥याएर अचेत अवस्थामा लडेकि छोरीको भोट समेत हालेको अनुभव बटुलेको यो परिवारलाई ति नेताले समेत कुनै सिन्को भाँचेर नदेखाएपछि बल्ल थाहा भयो,‘ओराली लागेको मृगलाई बाच्छाले समेत खेद्छ ।’
‘सहयोगभन्दा आश्वासन दिने धेरै आए,’ वस्तुभाउलाई घा“स लिएर हस्याङफस्याङ गर्दै मुर्झाएको असिनपसिन अनुहारमा टुप्लुक्क आ“गनमा टेक्दै बाबु पिर्थुलालले भने, ‘अहिले यिनेरुलाई आश्वासन भन्दा केहि गर्ने दाता चहिएको छ । भाषणमा सहयोग गर्नेको तागत देखियो ।’ उनले अपांगता भएका छोराछोरी घरमा भए सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विभेद भोग्नु परेको समेत गुनासो समेत गरे । स्वास्थ्य, गाँसबास र कपास अपांगता भएकाको मौलिक अधिकार भएपनि सबै कुराबाट बञ्चित हुनुपरेका प्रसस्तै अनुभव पिर्थुलालले सुनाए ।
अरूको सहारामा गुजारा गर्नेहरुका लागि राज्यले दिदैं गरेको दुइचार हजारले वर्ष थेग्दैन भन्ने यो परिवारलाई रामै्र ज्ञान छ । र त माईलाछोरा भुवानीश्वर सामान्य खालको जागिर गर्दै आएका छन् । उनको सामान्य रोजगारीको कमाईले आमाबुवा, दुईछोरी सहित ११ जना परिवारको गुजारा चलिरहेको छ । अपाङ्गता भएकालाई सुविधा दिन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले करोडौ बजेटमा दाईं गरिरहेका तिता यथार्थ भए पनि पीडित सधैं छट्पटिनु सिवाय कुनै विकल्प छैन । अपांगताका नाममा बजारमा लाखौं रकम खर्चिएर हुने कार्यक्रमले यो परिवारमा शुख ल्याउन सक्दैन । म्याग्दीमा पनि अपांगताका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसस्थाहरु भएपनि अहिले सम्म रिजाल परिवारलाई सान्त्वना दिन पुगेका छैनन् ।
‘हामीले खोज्न जान्दैनौ, सहयोग ल्याएर कोहीपनि घरमा आउँदैनन्’ रिजालले भने । लक्षितबर्गसम्म पुग्नुपर्ने बजेट पहुँचवालाले दुरुपयोग गरिरहेको आरोप समेत उनले लगाए । दिदीबहिनीको उपचारमै २ लाखभन्दा धेरै खर्च गरेको बताउँदै सरकारी अस्पतालमा समेत अपाङग भएकालाई हेर्ने दृष्टिकोण र उपचारमा प्राथमिकता पाउन नसकेको गुनासो गरे । ‘अपाङ् भएर जन्मिनु परिवारलाई दुःख, राज्यलाई बोझ रहेछ’ उनले भने । आर्थिक अवस्था कमजोर भएकाले उचित रेखदेखमा समस्या भएको बताउँदै रिजाल परिवारले सहयोगको याचना गरेका छन् ।
आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । खाना खुवाए देखि दिशा पिसाब गर्दा समेत अपाङ्ग छोरीलाई साथ दिनुपर्ने बाध्यता छ । सकिन्न, अब त ज्यानमा तागत पनि छैन, अबका दिनमा यीनलाई कसले स्याहारिदेला पिर्थलालको मनमा ठूलो चिन्ता छ ।
सरकारबाट सहयोग पाए छोरीहरुलाई पाल्न सहज हुने रिजाल दम्पत्तिले आशा पालेका छन् । ‘हाम्रा छोरीहरुको विजोग देखेर कठैबरी भन्ने मात्र छन्’, आमा हरिकलाले भनिन, ‘सहयोग गर्ने कोही छैनन् । हरिकलाले गहभरी आँशु झार्दै भनिन, कुन जन्मको सजाय दियौं दैव, ‘अव छोरीलाई कसरी स्याहार्ने होला ।’
बहिनीलाई स्यहार्दै अपाङग दिदी
अहिले पदमकुमारीको हेरचाह गर्ने पनि अपाङग दिदी चेतकुमारी रिजाल नै छिन । राम्रो सँग बोल्न नसक्ने दिदि रिजालले ओछ्यानमा थला परेकी बहिनीको राम्रो हेरविचार गर्दछिन् भन्दा विश्वास नलाग्न सक्छ । जन्म देखि नै अपाङग भएकी बहिनी पदम कुमारीलाई खुवाउने र दिशापिसाव गराउने लगायतका सवै काम उनलेनै गर्दै आएकी छिन् ।
राम्रो सँग हिड्न र वोल्न नसक्ने दिदी चेतकुमारी वहिनीकीको स्यारसुसारमा निकै ध्यान दिने गर्दछिन् । परिवारका अन्य सदस्य खेतवारीको काममा जान्छन् तर चेतकुमारी वहिनीलाई राम्रो सँग हेरविचार गरेर घर कुरेर बस्छिन् ।
पदम कुमारीे भोक लाग्यो, दिसापिसाब लाग्यो भन्न नसक्ने छिन्,दाजु रिजालले भने , आर्थिक अभावका कारण पालनपोषणमा समस्या छ ।’ महिनावारी हुँदाको फोहोरमै खेल्छन । बडोे पीर छ । दाजु रिजालले भने,‘ विरामी हुँदा अस्पताल सम्म पु¥याउन निकै समस्या छ ।’
सानो छँदा हेरबिचारमा सहजै थियो, रिजालले भने ठूलो हुँदै गएपछि सजिलो होला भन्दा अझ बढी अप्ठ्यारो छ । अपाङग छोरी स्याहार्दैमा जिन्दगी वित्यो, यस्तो पीडा त कसैलाई नहोस दैव । बुवा पृथ्वीलाल भन्छन्, धेरै कष्टका साथ हेरचाह गरेका छौ ।’ नवविकल्प पत्रिकामा प्रकाशित