सन्तोष गौतम /विकल्प न्यूज
बेनी ६ कात्तिक ।म्याग्दीको सदरमुकाम बेनीबाट लामो दुरीमा छुट्ने यातायातका साधनमा यात्रुहरुको चाप बढेको छ । बेनी देखि पोखरा, काठमाडौ, चितवन, भैरहवा लगायतका क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप बढेको हो । दसै तिहार मनाउन जन्मथलो आएका सर्वसाधारण कार्य क्षेत्रमा फर्कनेहरुले सवारी साधन अभावमा समस्या भएको गुनासो गरेका छन् ।
सोमबार दिउँसो बेनीबाट पोखरा जानका लागि कालीपुल बसपार्कमा पुगेकी कृपा शर्माले टिकट काट्न र गाडी कुर्न तिन घण्टा पर्खनु परेको बताउनुभयो । बेनीबाट पोखरा, काठमाडौ छुट्ने जिप, ट्याक्सी, माईक्रोबस र बसमा यात्रुको ठेलमठेल गरेर यात्रा गर्न बाध्य भएका छन् ।
दसै तिहार मनाएर सहरमा अध्ययन र रोजगारीका लागि जानेहरुको चाप बढेको यातायात व्यवसायीले बताएका छन् । धौलागिरी अञ्चल यातायात व्यवसायी समितिका कर्मचारी मुन्ना केसीले बेनीमा भएका बसले नपुगेपछि बागलुङबाट थप दुई वटा बस मगाएर यात्रुलाई गन्तब्यमा पठाइएको बताउनुभयो ।
समितिले बेनी देखि लामो दुरीमा प्रत्येक चालीस मिनेटमा गाडी छुटाउने गरेको छ । बेनी पोखरा रुटमा चल्ने म्याग्दीकाली यातायात व्यवसायी समिति अन्तरगतका तिस वटा जिप पनी आईतबार र सोमबार निकै व्यस्त भएका थिए ।
पोखराबाट बेनी आउने यात्रु नभएपनि बेनीबाट पोखरा जानेको चाप रहेको समितिका कर्मचारी मानबहादुर कार्कीले बताउनुभयो । बेनी पोखरा रुटका ट्याक्सीलाई समेत यात्रु बोक्न भ्याई नभ्याई छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु नठगीउन भनेर चेकजाँच र सहायता कक्ष सञ्चालन गरिएको बताउनुभयो ।