निरज थकाली /विकल्प न्यूज
मुस्ताङ ६ कात्तिक ।
लोपोन्मुख अवस्थामा रहेको बन्यजन्तु हिउँ चितुवाको संरक्षणका लागि सन्देश प्रवाह गराउने उद्देश्यले सोमबार अन्तराष्ट्रिय हिउँ चितुवा दिवस मनाइएको छ ।
स्नो लियोपार्ड कन्सरभेन्सी, ग्लोबल प्राईमेट नेटवर्क र राष्ट्रिय प्रकृति संरक्षण अन्तरगतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना –एक्याप)को आयोजनामा जिल्लामै पहिलो पटक दिवस मनाइएको हो । हरेक वर्षको २३ अक्टोबरका दिन अन्तराष्ट्रिय हिउँ चितुवा दिवस मनाउने गरिन्छ ।
“मुस्ताङ जिल्लाको एकता, हिउँ चितुवा जोगाउने प्रतिबद्धता“ भन्ने मुल नाराको साथमा विद्यार्थी, शिक्षक, स्थानीय बासिन्दा, सुरक्षाकर्मी र संरक्षणकर्मीहरुको सहभागीतामा ¥यालीको आयोजना गरिएको थियो ।
दिवसको अवसरमा हिउँ चितुवा संरक्षण सम्बन्धि निबन्ध प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रममा घरपझोङ गाउँपालीकाका उपाध्यक्ष शर्मीला गुरुङले लोपोन्मुख हिउँ चितुवा नेपालको गहना भएको बताउनुभयो ।
मुस्ताङको नमखु लेक क्षेत्रमा हिउँचितुवाको बसोबास रहेको विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । कार्यक्रममा ग्लोबल प्राईमेट नेटवर्कका प्रमुख गंगाराम रेग्मी र एक्यापका रेञ्जर धनु गुरुङले वन्यजन्तु र समुदायको द्धन्द्ध न्युनीकरण गरी हिम चितुवाको संरक्षणको अभियान चलाउनुपर्ने बताउनुभयो ।