बेनीमा प्रथम रिखार कप भलिबल हुने

विकल्प न्यूज/बेनी
साउन १५ गते ।
रिखार राष्ट्रिय दैनिक दोश्रो बर्ष प्रवेशको अवसरमा ‘प्रथम रिखार कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । भदौ १ देखि ४ गतेसम्म सदरमुकाम बेनीको खुल्लामञ्चमा जिल्लाव्यापी वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने पत्रिकाले जनाएको छ ।old vdc new wardsएकबर्षअघि भदौ १ गतेबाट सदरमुकाम बेनीबाट प्रकाशन आरम्भ भएको पत्रिकाले संघीय संरचना अनुसार वडास्तरीय प्रतियोगिता सञ्चालन गर्न लागेको पत्रिकाका प्रकाशक÷सम्पादक गोपाल छन्त्यालले जानकारी दिए ।
‘भलिबललाई सरकारले राष्ट्रिय खेलको मान्यता दिएपछि यसको गतिविधीहरु बढ्नेछन्, त्यसमा जिल्लाको दमदार उपस्थिति गराउन र ग्रामिण भेगमा लुकेर रहेको प्रतिभालाई बाहिर लिन यस्तो प्रतियोगिता आयोजना गर्न लागेका हौँ’, सम्पादक छन्त्यालले भने, ‘जिल्लाका ४५ वडाले यसमा सहभागिता जनाउनेछन् ।’
प्रतियोगितामा पुरुष तर्फ विजेता टिमलाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेतालाई ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराईनेछ । त्यस्तै महिला तर्फ विजेतालाई नगद २५ हजार र उपविजेतालाई १५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराईने पत्रिकाले जनाएको छ ।
प्रतियोगितामा अनुशासित टिम र उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागि हुन चाहने वडाका खेलाडीहरुलाई साउन ३० भित्र नाम दर्ता गरिसक्नुपर्नेछ । साउन ३२ टाइसिट प्रकाशन हुने रेफ्री संयोजक तेजेन्द्र बानियाँले जानकारी दिए ।
‘हामीले यो खेललाई एउटा नयाँ अभ्यासको रुपमा खेलाउँदैछौँ, अन्तराष्ट्रिय नियम र परिधिभित्र राष्ट्रिय तथा क्षेत्रीय अफिसियलहरु यस प्रतियोगिताका लागि आउनेछन्’, उनले भने । पत्रिकाले प्रतियोगिताको तयारीलाई तीब्र बनाएको छ । प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल संघ सह–आयोजकको रुपमा रहनेछन् ।
‘यसलाई जिल्लाकै प्रतिष्ठित प्रतियोगिताको रुपमा सञ्चालन गर्ने तयारी गरिरहेका छौँ । अर्को संस्करणबाट हामीले लिग सिष्टमबाट सञ्चालन गर्नेछौँ’ पत्रिका सम्पादक छन्त्यालले भने ।