पर्वतको जलजला गाउँपालिकाले ल्यायो ३६ करोडको बजेट

विकल्प न्यूज/जलजला
असार ३१ गते ।
पर्वतको उत्तरी जलजला गाउँपालिकाले शुक्रवार गाउँसभामा आर्थिक वर्ष २०७४/०७५ का लागि नीति,कार्यक्रम,योजना र बजेट प्रस्तुत गरेको छ ।
गाउँसभामा उपाध्यक्ष सिमा गर्बुजाले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि ३६ करोड १४ लाख ९३ हजार रुपियाँ बरावरको बजेट सार्वजनिक गर्नुभएको हो ।jaljala gaupalikaचालु खर्च तर्फ सामाजिक सुरक्षा भत्ताको रकम र सर्सत अनुदान १५ करोड ५७ लाख ८ हजार सहित जम्मा २३ करोड ९२ लाख ४८ हजार रुपियाँ विनियोजन गरिएको छ ।

यसै गरि पुँजी गत तर्फ १२ करोड २२ लाख ४५ हजार रुपियाँ विनियोजन गरिएको कार्यकारी अधिकृत सिता पोख्रेल अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक आय ७५ लाख रुपियाँ हुने अनुमान गरिएको छ ।

गाउँपालिका केन्द्र देखि वडा स्तर सम्म सडकको स्तरउन्नती,कालोपत्रे, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका योजनालाई प्राथमिकता दिइएको कार्यकारी अधिकृत अर्यालले बताउनुभयो । आगमी पाँचवर्ष भित्र गाउँपालिका केन्द्र देखि वडास्तर सम्म सडक निर्माणलाई मूख्य प्राथमिकता दिइएको छ ।

गाउँपालिकामा रहेका प्राकृतिक साधनस्रोतको परिचालन,पर्यटन मार्ग, लघुउद्यम प्रवद्र्धन र वडा स्तरको आर्थिक एवम सामाजिक विकास तर्फ बजेटमा विशेष जोड दिइएको छ ।

वडा स्तरमा भौतिक पूर्वाधारका साथै आर्थिक एवम् सामाजिक विकासका लागि प्रत्येक वडाहरुलाई ५२ लाख ५० हजारका दरले बजेट विनियोजन गरिएको कार्यकारी अधिकृत अर्यालले बताउनुभयो ।

गाउँसभामा वोल्ने वक्ताहरुले बजेटको पूर्ण कार्यान्वयन गर्दै गाउँपालिकालाई नमुना र समृद्ध बनाउन सवै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

सभामा नेपाली काँग्रेसका उपसभापति दुर्गा वहादुर खत्री,नेकपा माओवादी केन्द्रका नेता वावुराम कार्की लगायतले बजेटको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरेका थिए ।

गाउँपालिकाका नायव सुब्वा भिम प्रसाद अर्यालको सञ्चालन,कार्यकारी अधिकृत सिता पोख्रेल अर्यालको स्वागत र गाउँपालिकाका अध्यक्ष याम वहादुर मल्लको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।