दीलीप पौडेल /बागलुङ
मंसिर १९ गते ।
मुस्ताङ (छोन्हुप)- समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाइ। हजारौँ हेक्टरमा फैलिएको समतल भूभाग। मैदानको बीचमा ‘नेपाल २४ २०१९’ लेखिएको सिमेन्टको पिल्लर। पिल्लरको करिब ३० मिटर दूरीमा काँडेतारबेर।
२४ नम्बर पिल्लरको करिब ६० हात पर फलामे ढोका छ। त्यसको केही पर सोलार प्यानलजडित सिसी क्यामेराबाट चिनियाँ सेनाले नेपाली भूमिसम्म निगरानी गरिरहेको छ।
उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको ढुंगबासेन (लिजी नाका) र नेपालको उपल्लो मुस्ताङको छोन्हुप गाविसमा रहेको कोरला नाका (नेचुङ भन्सार) को दृश्य हो यो। यो नाकाको फलामे ढोकामा चीनले ताला लगाएको छ। सन् २००३ सम्म तिब्बत जानु परे यहाँबाट नेपालीले सहजै सहजै प्रवेश पाउँथे। चीनले सुरक्षा संवेदनशीलताको कारण तारबार लगाएपछि ढोका बन्द छ।
नेपाली पक्षले चाहेर त्यो ढोका खुल्दैन। चिनिया सेना भने चाहेको बेला ढोका खोलेर २५ किलोमिटर तल उपल्लो मुस्ताङको लोमान्थाङसम्म पनि आइपुग्छन्।
यो नाका खोल्ने भनिए पनि प्रभावकारी पहल हुन सकेको छैन। लामो समयदेखि बन्द नाका खोल्न सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र चिनियाँ समकक्षीबीच सम्झौता भए पनि कार्यान्वयन हुन सकेको छैन।
व्यवस्थापिका संसदको विकास समिति सभापति रविन्द्र अधिकारी नेतृत्वको संसदीय टोलीले नाका अवलोकन गरेर सीमा क्षेत्रसम्मै यातायातको पहुँच पुगेकाले कोरला नाका खोल्न सरकारलाई निर्देशन दिएको छ। भारतको नाकाबन्दीले मुलुकमा इन्धनलगायत सामग्री आपूर्तिमा असहजता आएको अवस्थामा चीनसँग सीमा जोडिएका नाकाको अध्ययन गरेको हो। समितिले कोरला नाका उपयुक्त हुने भन्दै प्रधानमन्त्री तहबाट कूटनीतिक पहल गर्न आग्रह गरेको संसदीय समितिका सभापति रविन्द्र अधिकारीले बताए।
‘हामीले चीनसँग जोडिएका चार नाकाको अध्ययन गर्यौँ ,’ अधिकारीले भने, ‘सीमासम्मै यातायात सुविधा पुगेको र भूबनोट हेर्दा कोरला तत्काल खोल्न उपयुक्त देखियो। नाका खोल्न प्रधानमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन बुझाएका छौँ।’ चीनका केही आशंका छन् भने आश्वस्त पारेर अघि बढ्नुपर्ने उनले बताए।
भारतदेखि चीन पुग्ने सबैभन्दा छोटो सडक (कालीगण्डकी करिडोर) पनि निर्माणाधीन रहेकाले व्यापारिक दृष्टिकोणले पनि यो नाका तत्काल सञ्चालन गर्न आवश्यक रहेको विकास समिति सदस्य एवं सांसद प्रकाश शर्मा पौडेलले बताए।
‘कोरलादेखि भारत जोड्न कालीगण्डकी करिडोर निर्माणाधीन छ,’ उनले भने, ‘ट्र्याक खोलिएको सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नति गर्नुपर्छ।’
कोरला नाका भारत र चीनलाई जोड्ने छोटो दुरीको सडक हुने सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख इन्जिनियर राजेश पौडेलले बताए। ‘भारत र चीनलाई जोड्ने ४ सय ३५ किलोमिटरको सबैभन्दा छोटो सडक मार्ग हुन्छ,’ उनले भने, ‘सडकको स्तरोन्नति गर्न कोरलादेखि जैथेसम्मको ६० किलोमिटरको लागि डिपिआर रिपोर्ट पनि तयार गरेका छौँ।’
जिल्ला प्रशासन कार्यालय, मुस्ताङ र तिब्बतको ढुंगबासेन काउन्टीबीचको सहमतिअनुसार वर्षको दुईपटक नाका खोलेर सीमा क्षेत्रमा बजार सञ्चालन गर्ने गरेको मुस्ताङकी सांसद श्रीमाया थकालीले बताइन्।
कोरला नेपालको छोन्हुप गाविसको नेचुङ गाउँ र तिब्बतको ढुंगबासेन काउन्टीको लिजी गाउँबीचको नाका हो। कोरला पासदेखि तिब्बततर्फ ढुंगबासेनसम्म करिब ३० किमी कच्ची सडक र ढुंगबासेनदेखि सिगात्सेसम्म करिब ६ सय ५० किमि पक्की पिच सडक छ।
चीन र नेपालको सीमाको २४ नम्बर पिल्लरनजिकै चिनियाँ पक्षले गेट निर्माण गरेर सिसी क्यामेराले निगरानी गरेको भए पनि नेपालतर्फको सिमाना कुनै सरकारी संरचना छैनन्। सीमाभन्दा करिब १२ किलोमिटर तल प्लान्ट स्वारेन्टाइन र प्रहरी चौकी रहेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए।
पोखरा-बागलुङ-बेनी-जोमसोम-उपल्लो मुस्ताङ हुँदै कोरलापाससम्म पुगिन्छ। कोरलादेखि जोमसोमसम्म करिब १ सय किमी र जोमसोमदेखि म्याग्दीको बेनीसम्म ७६ किमि ट्र्याक ओपन मात्र भएको कच्ची सडक छ। बेनी–पोखरा ७६ किमी सडक भने कालोपत्रेस्तरको छ।
nagariknews.com