विवाद मिलाउन प्रचण्डद्वारा आठ प्रदेशको प्रस्ताव

काठमाडौं, मंसिर १६ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमांकनको विवाद मिलाउन आठ प्रदेशको विकल्प अघि सार्नु भएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डले मंगलबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सीमांकनको विवाद मिलाउन केही प्रदेशको सीमांकनमा हेरफेर र आठौं प्रदेश निर्माणको प्रस्ताव गर्नु भएको हो । जसमा प्रदेशको सीमांकन रहेफेर र आठौं प्रदेश निर्माणको विकल्प उल्लेख छ ।

prachand-1

 

 

 

 

 

 

गएको तीन महिनादेखि आन्दोलनरत मधेस केन्द्रित दलले तराई मधेसको भूभागलाई दुई वटा प्रदेशमा समेट्नुपर्ने माग गरिरहेका बेला प्रचण्डको आठ प्रदेशको प्रस्ताव आएको हो । मुख्य विवाद रहेका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई केन्द्रमा राखेर प्रचण्डले नयाँ प्रस्ताव ल्याउनुभएको छ ।

अहिलेको राजनीतिक समस्या समाधानका लागि प्रस्तावित प्रदेश नम्बर ५ मा कैलाली र कञ्चनपुरको थारु बाहुल्य क्षेत्रलाई पनि समावेश गर्नु पर्ने प्रचण्डको प्रस्तावमा उल्लेख छ । अहिले प्रदेश नम्बर ५ मा रहेका पाल्पा, गुल्मी, अर्घाखाँची रोल्पा, प्युठान, रुकुमलाई त्यहाँबाट हटाएर प्रदेश नम्बर ४ मा राख्नु पर्ने प्रचण्डको प्रस्ताव छ ।

झापा, मोरङ र सुनसरीको विवादको विवाद मिलाउनका लागि पनि प्रचण्डले नयाँ प्रस्ताव गर्नु भएको छ । प्रदेश नम्बर १ मा झापा, मोरङ, सुनसरी तीन वटै जिल्ला र त्यसका सम्पूर्ण भाग राखिएकोमा त्यसलाई परिमार्जन गर्नु पर्ने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।

झापासहित वा झापाबाहेक मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुर मिलाएर आठौं प्रदेश बनाउन सकिने प्रचण्डले उल्लेख गर्नुभएको छ । अहिलेको २ नम्बर प्रदेशबाट सिरहा र सप्तरीलाई झिकेर त्यसमा पर्सादेखि धनुषासम्मका जिल्ला र मकवानपुर, सिन्धुली, र उदयपुरका चुरे क्षेत्रलाई समावेश गर्न सकिने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।

त्यसो हुन नसकेमा भाषिक, सांस्कृतिक सामिप्यता रहने मोरङ र सुनसरीको दक्षिण पश्चिमी क्षेत्रलाई प्रदेश नम्बर २ मा राख्न सकिने प्रचण्डको प्रस्ताव छ ।

प्रचण्डको प्रस्तावका आठ प्रदेशमा कुन कुन जिल्ला ?

  • झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर(केही भाग अर्को प्रदेशमा) र सिरहा रहेको प्रदेश ।
  • इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, भाजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा रहेको प्रदेश ।
  • दोलखा, रामेछाप, सिन्धुली (केही भाग अर्को प्रदेशमा), काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काठमाडौं उपत्यकाका तीन जिल्ला, धादिङ, चितवन र मकवानपुर (केही भाग अर्को प्रदेशमा) रहेको प्रदेश ।
  • धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुरको केही भाग, सिन्धुलीको केही भाग र उदयपुरको केही भाग रहेको प्रदेश ।
  • गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा, तनहुँ, बाग्लुङ (केही भाग अर्को प्रदेशमा) र नवलपरासी (केही भाग अर्को प्रदेशमा) रहेको प्रदेश ।
  • रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, रोल्पा, रुकुम (केही भाग अर्को प्रदेशमा), दाङ, बाँके, बर्दिया, कैलाली (केही भाग अर्को प्रदेशमा), कञ्चनपुर (केही भाग अर्को प्रदेशमा) तथा  बाग्लुङ र नवलपरासीको केही भाग भएको प्रदेश ।
  • डोल्पा, मुगु, जुम्ला, हुम्ला, जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, कालिकोट र रुकुमको केही भाग भएको प्रदेश ।
  • बाजुरा, अछाम, डोटी, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा तथा कैलाली र कञ्चनपुरको केही भाग भएको प्रदेश । ujaaloonline