त्रिपुरेश्वर महादेव मन्दिरमा आयोजना गरिएको महायज्ञमा ३ करोड बढी संकलन

खिमानन्द कँडेल/विकल्प न्यूज
बागलुङ,पुस १० गते ।
विश्वका हिन्दु धर्मावलम्बीहरुको लागि प्रसिद्ध धार्मिक स्थलको रुपमा आफ्नो परिचय बनाउँदै गईरहेको त्रिपुरेश्वर महादेव मन्दिर (शिवालय, रामकोट मन्दिर), विहुँकोट, बागलुङमा आयोजना गरिएको धनधान्याचल महायज्ञ धुमधाम रुपमा सम्पन्न भएको ।15725425_1559753490718141_2115847986_oयही मंसीर २८ गते देखि पौष ६ गतेसम्म आयोजना गरिएको यस महायज्ञमा देश तथा विदेशमा रहेका दानवीरहरुबाट रु. ३ करोड भन्दा बढी आर्थिक संकलन भएको छ भने हजारौं धर्माबलम्वीहरुले यस मन्दिरको दर्शन गरेका छन् ।

विहुँकोट अमर क्याम्पसको भौतिक पूर्वाधार निर्माण एवं नियमित संचालनको लागि आर्थिक सहयोग जुटाउनको लागि स्थानीय स्तरमा राजनीति भन्दा माथि उठेर मुल समिति गठन गरिएको थियो भने चितवन, काठमांडौ लगायत देशका विभिन्न क्षेत्रहरु र जापान लगायतका देशहरुमा समेत विभिन्न उपसमितिहरु गठन गरी महायज्ञको माहौल बनाउन व्यापक प्रयास गरिएको थियो । यस महायज्ञका केही उपलब्धीहरु यस प्रकार रहेका छन् ।
१ लक्ष्य अनुसार भन्दा बढी आर्थिक संकलन ः
यस महायज्ञबाट झण्डै २ करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको भएतापनि स्थानीय जनताहरुको एकतावद्ध अभियानबाट ३ करोड रुपियाँ भन्दा बढी आर्थिक रकम संकलन भएको छ ।
२ ऋण काढेरै भएपनि महायज्ञमा दान ः
विकास निर्माणको अभियानका लागि जनताहरु कति आतूर छन् र जनसहभागितामा आधारित विकासका पूर्वाधारहरु निर्माणका कार्यक्रमहरु सहजै सफल हुन्छन् भन्ने गतिलो उदाहरण यो महायज्ञ हुन पुगेको छ । सामान्य आर्थिक स्थिति भएका जनताहरुको ठूलो पंक्तिले समेत खुलेर प्रसन्नताका साथ लाखौं रुपियाँ आर्थिक सहयोग गरेका छन् । विशेष गरी उपल्लो विहुँका ६ वटा वडाहरुबाट प्रशस्त आर्थिक सहयोग संकलन भएको छ भने विहुँका अन्य गाविस, क्षेत्र र जिल्लाहरुबाट समेत प्रशस्त आर्थिक सहयोग प्राप्त भएको छ । झण्डै १५० घरधुरीहरुबाट प्रतिघरधुरी रु. एक लाख भन्दा बढी आर्थिक सहयोग गरी विहुँकोट गाविसलाई दानवीरहरुको गाउँ अथवा सभानायकहरुको गाउँको रुपमा आफ्नो परिचय दिन सफल भएका छन् ।
३ ऐतिहासिक सांस्कृतिक महत्वको महायज्ञ ः
विहुँकोट गाविस विशेष गरी कँडेलहरुको बाहुल्यता रहेको क्षेत्र हो र यस बाहेक पनि रिजाल, सुवेदी, सापकोटा, विश्वकर्मा र दर्जी समुदायको पनि यहाँ उल्लेख्य बसोवास रहेको छ । पछिल्लो समयमा आएर मगर समुदायको यस क्षेत्रमा वसोवास बढ्दै गएको छ भने नेवार समुदाय पलायन हुँदै गएका छन् ।

यस बाहेक पनि रोजगारीको शिलशिलामा ठूलो जनसंख्या हाल जापान, अष्ट्रेलिया, क्यानडा, अमेरिका, अन्य यूरोपियन देशहरु र खाडी मुलुकहरुमा रोजगारीका लागि गएका छन् ।

पछिल्लो समयमा बढ्दो आर्थिक प्रगतिसँगै बागलुङ बजार, पोखरा, चितवन, काठमांडौ लगायतका क्षेत्रहरुमा बसाईसराई पनि तीव्र हुँदै गएको भएतापनि यस महायज्ञले यस क्षेत्रको विशेष महत्व रहेको, जनताहरुको वीचमा व्यापक हार्दिकता रहेको र देश तथा विदेशमा रहेका आम विहुँकोटेहरुलाई एउटै मालामा गाँस्न सकिने मुल आधार त्रिपुरेश्वर महादेव मन्दिर रहेको कुरालाई आत्मसात गरेका छन् भने विश्वव्यापी रुपमा रहेका विहुँकोटेहरुको पुनः भावनात्मक सामिप्यता कायम गरि ऐतिहासिक सांस्कृतिक मिलन र महत्वको महायज्ञको रुपमा यो महायज्ञ परिणत भएको छ ।
४ पर्यटन प्रवद्र्धनको केन्द्र त्रिपुरेश्वर महादेव मन्दिर ः
त्रिपुरेश्वर महादेव मन्दिर मध्यपहाडी लोकमार्गको झण्डै झण्डै मध्यभागमा पर्ने र पूर्व पश्चिम क्षेत्रको मध्यभागमा यो मन्दिर अति सुन्दर प्राकृतिक स्थलमा रहेको धार्मिक स्थल भएकोले यस महायज्ञका मार्फतबाट यस मन्दिरको प्रचार प्रसार व्यापक बन्दै गएको छ ।

हाल बर्षेनी लाखौं पर्यटकहरु मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको दर्शन एवं भ्रमणमा जाने गरेको र मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङ बजारदेखि गल्कोट÷वुर्तिवाङ सडक आगामी दुई बर्ष भित्रमा कालोपत्रे हुने भएको सन्दर्भमा पर्यटकहरुलाई बागलुङ बजार नजिकै रहेका कालिका मन्दिर, पञ्चकोटधाम, घोडावाँधे, थामनेटा, गल्कोट क्षेत्र र ढोरपाटनसम्म सहजै लैजान सकिने अवस्था रहेको छ । यस्ता महत्वपूर्ण धार्मिक र पर्यटकीय स्थलहरुको केन्द्र त्रिपुरेश्वर महादेव मन्दिर बन्दै गएको छ ।
५ सामुदायिक अस्पताल निर्माण गर्न सकिने आधार तय ः
विशेष गरी यस महायज्ञमा पछिल्ला बर्षहरुमा आर्थिक प्रगति गरेका जनताहरुबाट व्यापक रुपमा आर्थिक सहयोग प्राप्त भएको छ । व्यापक प्रचार प्रसार गर्दा र एकतावद्ध रुपमा अगाडि बढ्दा यस क्षेत्रका सम्पन्न जनताहरुले करोडौं रकम सहयोग गर्न सक्ने आर्थिक हैसियत वनाईसकेका छन् ।

सामुदायिक अस्पताल निर्माणको लागि यस क्षेत्रमा जग्गा समेत सहजै उपलब्ध हुने, र विहुँ लगायत आसपासका क्षेत्र र गाविसहरुको लागि समेत सहज पहुँचको स्थान भएकोले थप क्षेत्रबाट आर्थिक सहयोग प्राप्त हुने भएकोले ५ बर्ष भित्रैमा सामुदायिक अस्पताल निर्माण गर्न सकिने आत्मविश्वास यस महायज्ञले गराएको छ ।

अहिलेकै परिस्थितिमा पनि सामुदायिक अस्पताल निर्माणको लागि २० करोड भन्दा बढी आर्थिक सहयोग जुटाउन सकिने अवस्था देखिएको छ ।
६ जनताहरुमा व्यापक उत्साह र उमंग ः
स्थानीय जनता एवं राजनीतिक दलहरु राजनीति भन्दा माथि उठेर विकास निर्माणका अभियानमा एकतावद्ध हुँदा स्थानीय जनताहरुमा व्यापक उत्साह छाएको छ । सडक, विजुली, संचार आदि क्षेत्रको सहज पहुँच र स्थानीय स्तरमा नै विस्तारै रोजगारीका प्रशस्त अवसरहरु बढ्ने संभावना यस क्षेत्रमा रहेकोले बसाईसराई रोकिने, पलायन भएका जनताहरु पुनः फर्किने र अन्य गाविस एवं क्षेत्रहरुबाट समेत यस क्षेत्र बसाई सराईको रोजाईको क्षेत्र हुने संभावना बलियो भएर गएको छ ।

यस महायज्ञबाट बागलुङ बजार, पोखरा, काठमांडौ, जापान, अष्ट्रेलिया, क्यानडा, अमेरिका, कोरिया लगायत देश तथा विदेशमा रहेका जनताहरु र बागलुङ एवं विहुँको विकासको लागि संस्थागत रुपमा लागेका विहुँकोट समाज जापान, युके हेल्प नेटवर्क लगायतमा व्यापक उत्साहको संचार भएको छ ।
७ लगानीमैत्री वातावरणको आधार निर्माण ः
यस महायज्ञबाट वर्षौसम्म सम्पर्क भन्दा वाहिर रहेका जनताहरुको वीचमा भावनात्मक सम्बन्ध वलियो हुन गएको छ । यस क्षेत्रका जनताहरु रोजगारीको शिलशिलामा हाल जापानमा ठूलो संख्यामा रहेका र यस वाहेक अष्टे«लिया, अमेरिका, क्यानडा, अन्य यूरोपियन मुलुकहरु र खाडी देशहरुमा समेत ठूलो संख्यामा रोजगारीको लागि गएका छन् ।

यस क्षेत्रमा पर्यटनमा आधारित लगानीको व्यापक संभावना रहेको छ । विशेष गरी होटल तथा रेष्टुरेण्ट, केवल कार, वैंक तथा वित्तिय क्षेत्र, व्यावसायिक कृषि लगानीका महत्वपूर्ण क्षेत्रहरु हुन् भने सामुदायिक स्वास्थ्य र शिक्षामा समेत लगानी गर्न सकिने ठूलो संभावना यहाँ रहेको छ । अहिले पनि यस क्षेत्रमा व्यावसायिक पशुपालन, फलफुल खेती, उच्च शिक्षाको पहुँच, वित्तिय संस्थाहरुको उपस्थिति र स साना रेष्टुरेण्टहरु संचालित छन् ।

८ सामाजिक एकताको महायज्ञ ः
यस महायज्ञमा सम्पूर्ण समुदायका जनताहरुले सँगै खाने, सँगै महायज्ञमा सामेल हुने र एकतावद्ध अभियानमा सबै समुदायका जनताहरुको उत्साहका साथ भएको सहभागिताबाट यो महायज्ञ जातीय विभेदलाई न्यूनीकरण गर्दै समाजमा जातीय विभेद अन्त हुँदै गएको सन्देश समेत दिन सफल भएको छ ।
९ सकरात्मक ऊर्जाको प्रवाह ः
यस महायज्ञले देश तथा विदेशमा व्यापक रुपमा सकरात्मक ऊर्जा प्रवाह गरेको छ । अब देशको आवश्यकता राजनीति भन्दा माथि उठेर आफ्नो क्षेत्रको विकासको लागि लाग्नु भएको भन्ने सन्देशलाई थप बलियो बनाएको छ । विशेष गरी यस क्षेत्रका आसपासका गाविसहरुमा समेत यस्तै एकतावद्ध अभियान अगाडि बढाई यस क्षेत्रको आर्थिक विकासको लागि मलजल गर्ने नमूना महायज्ञ बन्न यो महायज्ञ सफल भएको छ ।

यस महायज्ञमा उत्साहजनक रुपमा भएको सशक्त उपस्थिति पक्कै पनि यस क्षेत्रको मात्रै नभएर समग्र बागलुङ जिल्ला र नेपालकै विकासको लागि एउटा नमूना महायज्ञ बन्न पुगेको छ । बागलुङ बजार देखि ढोरपाटन सम्म र यस आसपासका क्षेत्रहरुमा पर्यटकीय विकास र व्यापक लगानीको माध्यमबाट व्यापक रोजगारीका अवसरहरुको सृजना गर्ने दिशामा समेत यस महायज्ञले सकरात्मक ऊर्जाको प्रवाह गरेको छ ।

हामी यस महायज्ञमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगी हातहरुमा धेरै धेरै धन्यवाद समेत दिन चाहन्छौं र विकास निर्माणका अभियानहरुमा सदैव यस्तै खाले सहयोगको अपेक्षा समेत गर्दछौं । विहुँ ८, बागलुङ