हाते मेसिन बोकेर घरघरै

अगन्धर तिवारी /विकल्प न्यूज
पर्वत,पुस ७ गते ।
सेतै कपाल, चाउरिएका गाला आँखाको घेरासम्म, दाँत सबै फुक्लिएर चपाउन मिल्दैन । तर, शंकरपोखरी ५ पुर्कोटकी ७२ वर्षीया चन्द्रकला दर्जीको जाँगर र काम गर्ने आत्मबलमा कुनै कमी छैन ।
 ११ वर्षको उमेरदेखि मुडिकुवा, खानीगाउँ, थापाठाना, शंकरपोखरी र भंगाराका करिब ३ सय घरमा बालिघरे प्रथामा आश्रित भई कपडा सिलाउन थालेकी उनले अझै पुरानो पेसालाई निरन्तरता दिइरहेकी छन् । ३ सय धुरीमा बिहे, व्रतबन्ध, पास्नी, न्वारनलगायत संस्कारमा चन्द्रकला कपडा सिलाउने हातेमेसिन बोकेर टुप्लुक्क आइपुग्छिन् । प्रत्येक परिवारका हरेक सदस्यले रोजेअनुसारको डिजाइनका कपडा सिलाएर उनले सबैलाई खुसी बनाएकी छन् ।baalighare-prathaa-22122016101249-1000x0बुढयौलीमा पनि उनले नयाँ र बजारमा आएका जस्तोसुकै डिजाइनका कपडा सिलाउँछिन् ।

‘एकपटक लुगा वा फोटो हेरेपछि उस्तै सिलाउँछु,’ मुडिकुवाको एक घरमा कपडा सिलाउँदै गरेकी उनले भनिन्, ‘यो उमेर भयो अहिलेसम्म कसैले नराम्रो सिलाइस् भन्ने सुन्नुपरेको छैन ।’ ४ छोरा र २ छोरीकी आमा उनका सबै सन्तान आफ्नो बाटो लागिसकेका छन् । एक परिवारबाट बर्सेनि ५ देखि ७ पाथीका दरले करिब ७० मुरी अनाज ज्यालाबापत उनले एक्लै संकलन गर्छिन् । ‘आफूले वर्षमा एक/दुई दिन पनि घरमा खानु पर्दैन । उठेको अन्न अधिकांश गाउँमै बिक्री गर्छु । केही बचेको छोरीहरूलाई पनि पठाउँछु,’ उनले भनिन् । बुढेसकालको शरीर भए पनि यिनका आँखा र कान भने तेजिला छन् । मेसिनको सियोमा धागो उन्न उनलाई कुनै समस्या पर्दैन ।

चन्द्रकलाको कामबाट असन्तुष्ट हुने कुनै परिवार छैन । ‘जुन घरमा जान्छिन् त्यहाँकै वातावरणमा रमाउने यिनको स्वभाव निकै राम्रो लाग्छ,’ मुडिकुवाकी नन्दकली गौंडेलले भनिन्, ‘म यहाँ आएपछि यिनीबाहेक अरूले सिलाएका कपडा लगाएकै छैन ।’ उनी गाउँभरकी प्यारी पनि छन् । घरमा विदेशबाट आउने युवा, विवाह, व्रतबन्धलगायत कार्यक्रममा उनका लागि छुट्टै रकम वा उपहार सबैले दिन्छन् । ‘कतिले नासो दिन बोलाउँदा पनि जान पाउन्न,’ उनले भनिन्, ‘लुगा सिलाउँदा फुर्सदै हुन्न । अनि कसरी जानु । केहीले घरै लिएर पनि पुग्छन् ।’

६० वर्ष उमेर पुगेकालाई राज्यले ज्येष्ठ नागरिकको सूचीमा सूचीकृत गर्ने गरेको छ । दलितलाई गत साउनदेखि मासिक २ हजार प्रोत्साहन भत्तासमेत उनले पाउँदै आएकी छन् ।