शीरफुले, सालैजो, यानिमायाँ र अविजाले मायाँ आजकल हराए

Dhan Kumari Thapa for front
म्याग्दी जिल्लाको चिमखोला गाविस ८ मा बाबा दिलबहादुर थापा र रामसरा थापाको कोखबाट २०१६ कार्तिक ३ गते जन्मीएकी धनकुमारी थापाले विद्यालय तहको पढाइ स्थानीय ज्ञानप्रावि (हाल अमर मावि)बाट प्राथमीक तहको अध्ययन सकेपछि पोखरा कन्या माविबाट निमावि अध्ययन सकेकी थिइन् । उनले म्याग्दीको प्रतिनिधित्व गर्दै धेरै पटक दोहोरी गाइन र पुरुष कलाकार कृष्णदत्त पौडेल र धनकुमारी थापाको जोडीले धेरै उपाधि जिते उनै धनकुमारी थापा सँग नवविकल्पका कला संवाददाता अमृत बास्कुनेले गरेको कुराकानी प्रस्तुत छ ः
म्याग्दीको साँगीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
छोरीले पढ्ने भन्ने चलन थिएन । तै पनि बाबा आमाको प्रेरणाले मैले पढ्न पाएँ र विद्यालयमा हुने शुक्रबारको कार्यक्रममा हुँदा म सहभागी हुन्थे । आफू भन्दा ठूला दाजुदीदीहरु गाउँमा रोदी बस्दा मैले हेर्थे । पहिलो पटक मुस्तांङमा भएको लोक नृत्य तथा दोहोरी प्रतियोगीतामा म पहिलो भएकी थिएँ त्यसपछि यस क्षेत्रमा लाग्नका लागि मलाइ थप हौसला मिल्यो ।
तपाईको परिवारीकक अवस्था कस्तो रहेको छ ?

मेरो परिबारमा बा, आमा खेतीपाती गर्नुहुन्थ्यो । भारतीय सेनाको जागिरे हुनुहुन्थ्यो बाबा तर विचैमा जागिर छाडेर आउनु भयो । मेरी आमाको निधन २०४० सालमा भएको थियो र २०५२ सालमा बाबाको निधन भएको हो । परिवारको जेठी छोरी भएकाले मेरो जिम्मेवारी पनि थियो भाइ बहिनी हेर्ने । अहिले भाइ अमर मावि चिमखोलामा प्रअ छन् भने बहिनी मालपोत कार्यालय म्याग्दीमा जागिरे र अर्की बहिनी वाखेतमा छिन् । परिवारका सबै सरकारी जागिरे छौं अहिले । मेरो श्रीमान सेवा निबृत्त शिक्षक हो र मेरो एउटी छोरी अष्ट्रेलिया छिन् उनको विवाह भै सकेको छ । म पनि अहिले शिक्षण पेशाबाट सेवा निवृत्त भएर बसेको छु ।

11950881_10201076432868833_450412238_n
अहिले सम्म तपाइले लोक दोहोरीगीत कति गाउँनुभयो ?
२०३१ सालमा जोमसोममा भएको कार्यक्रममा धेरै मनोरञ्जन दिएका थियौं । त्यस बखत मैले भनेको थिए सानै थिएँ काखैमा अटाउने नआत्तीनु छैन म सताउने भन्ने शब्द प्रयोग भएको थियो । त्यस बखत झाल झालैमा भन्ने भाखाको गीत गाएको थिएँ । मैले दुइ दर्जन गीतको क्यासेट निकालेको थिएँ । शिरफुले, सालैजो, यानिमायाँ, अविजाले मायाँ, साइलो भाका, खोला पारी निरमायाँ गाएको थिएँ बमबहादुर कार्की सँग । रेल पुग्यो बम्बैमा बिरबहादुर कार्की र सञ्जय श्रेष्ठ सँग, भेट भयो सलल, धौलागिरी बन, निरमया, सिरवन्दीलगायतका एकल तथा संयुक्त रुपमा गाएका झण्डै दुई दर्जन गीतका क्यासेट रेकर्ड भएका थिए । शिला क्यासेट सेन्टर, म्युजिक नेपाल, रेडियो नेपाल, झरना संगीत, रिमा रेकर्डीङ, गोर्खा म्युजिक, आरआरसी म्युजिक लगायतका कम्पनिहरुबाट मैले अडियो क्यासेट निकालेको थिएँ । बमबहादुर कार्की, प्रेमराजा महत, रत्न बानियाँ, पाण्डब सुनुवार, तिर्थबहादुर गन्दर्भलगायतका कलाकारहरु सँग मैले गीत गाएको थिए । मिठो बोली, सोल्टी ज्यू लगायतका क्यासेट निकाले मैले । २०४४ मा भएको चौथो राष्ट्रिय लोक नृत्यमा हाम्रो समूह पहिलो भएको थियो ।
अरुको शब्द नै गाउने गर्नु भएको छ कि आफ्नै शब्द हो गाउने ?
संगीत मैले सिकेन, शब्द भने मैले आफै लेख्थे । सबै तीर हेर्दा कलाकारहरु सबैको समस्या देखे । कलाकारहरु पनि बाँच्न निकै कठीन अवस्था भएकाले मैले आफ्नो स्थायी जागिर थियो शिक्षण यसलाई छोड्न सकिन । संगीतको क्षेत्र मेरो निकै रुचीको विषय थियो तै पनि यसलाई निरन्तर दिनका लागि केही सकिन । आखिर आर्थिक समस्या पनि यस क्षेत्रमा थियो नै । मैले यहाँबाट काठमाण्डौ जानु पर्ने गीत रेकर्ड गर्नका लागि । समस्या निकै हुन्थ्यो त्यसैले आफ्नै शब्दको गीत रेकर्ड गराएपनि शिक्षण पेशा छाड्न सकिएन ।
संगीत क्षेत्रमा लाग्ने क्रममा तपाईलाई कसले सहयोग गर्नु भयो ?
गलेश्वर मेलामा हुन्थ्यो कहिले काँही दोहोरी हुन्थ्यो तर धेरै पछि । २०३९ ताका होला साहद । तर त्यस पहिला गलेश्वरमा हुदैनथ्यो । गोपाल भट्टचनले निकै राम्रो यानिमायाँ गाउनु हुन्थ्यो । गोपाल भट्टचनसँग २०४० सालमा हुनु पर्छ यानिमयाँ गाएको थिएँ उहाँले तिमि पारी म छु वारी छिटै हालौं पुल, चर्को घामको पानी तिर्खा देखिनौं कि मुल, भन्ने टुक्का भन्नु भएको थियो । गहिरो तालको सुनको औंठी मनले देखि भो र, मैले नजिक सम्झीएनी हुन्छौ पर पर भनेर मैले रिप्लाई दिएको थिएँ । यानिमायाँ जगाउनका लागि उहाँको पनि योगदान छ । ओखरबोटको काजु शेरचनले गलेश्वमा लोकदोहोरी प्रतियोगिता राख्ने तारतम्य मिलाउनु भएको थियो । काजुले गलेश्वरका स्थानीय युवाहरु सँग मिलेर गर्नु भएको थियो । गलेश्वरका अमृतमान शेरचनका बुबाले गलेश्वरमा दोहोरी प्रतियोगिताको व्यवस्था मिलाउनु भएको हो । त्यस ताका शिरफुले मायाँ हामीले गाउँथ्यौं । लोक दोहोरी गाउन हामी बागलुङ जान्थ्यौं म्याग्दीका कृष्णदत्त पौडेल र मैले लिड गरेर चैते दशैं मेलामा गएका थियौं । जज थिए प्रजापति पराजुली चितवनका रफिक मियाँको टोली सँग हाम्रो टोलीले गाउने बेलामा नम्बर बराबर बनाइ दिए । फेरी गाउन भने पछि कृष्णदत्त पौडेल र मेरो एउटै टोली हो हामीले प्रतियोगिता त्यागेर आयौं । त्यसपछि कृष्ण पौडेलले गाउन छोड्नु भयो । त्यो प्रतियोगिता दुःखद् क्षण हो किनकी म्याग्दीले एक जना कलाकारलाई लोकदोहोरी क्षेत्रबाट टाढा राख्न परेको थियो त्यो चैते दशैं मेलापछि।

11975532_10201076432948835_669514122_o
दोहोरी गाउन कहाँ सम्म पुग्नु भयो अनि कस्तो रहेको थियो परिणाम ?
दोहोरी गाउनका लागि बिरगंज, भैरहवा, कास्की, दोलखा, नेपालगञ्जमा पुगेको थिएँ । नेपालगञ्जमा म र कृष्ण पौडेलको टोलीले प्रजापति पराजुलीको टोलीलाई पराजित गरेको थियो । नारायण पाण्डे र कोमल ओलीको टिमसँग हामी पराजित भएका थियौं । सोही रिसले पछि चैते दशैं मेलामा हाम्रो जज बन्न आइपुगे प्रजापति र हामीलाई प्रतियोगीता त्याग्ने बनाएका थिए । कोमल ओलीलाई कृष्णले जित्नु भएको थियो नारायणले मलाई जित्नु भयो समग्रमा हामी दोश्रो भएका थियौं । त्यस बखत नारायण पाण्डेले डाक्टर पनि छेवैमा आको थ्यो सुत्केरी पीरले आधा परान गाकोथ्यो भनेका थिए मैले त्यस बखत म सुत्केरी ध्यू मासु झोल खाने तिमि छेउमा मुखबाट ¥याल चुहाउने भन्ने टुक्का फर्काएको थिएँ । मलाई याद भएको मध्ये दोश्रो भएको यही हो । नत्र कृष्ण पौडेल र मेरो जोडीले धेरै ठाँउमा पहिलो पुरस्कार जितेको थियो ।
अन्तर कस्तो लाग्छ अहिलेको गीतसंगीत र पुरानो गीत ?
पहिलेका गीतहरु सुन्दा मानिसहरु भावुक भएर रुन्थे भने अहिले गीत सुन्दा सुन्दै मानिसले गालि गर्छन् । यस्तो भन्दा अहिलेका गायक गायिकाहरुलाई पीडा हुनसक्छ तर पनि अहिलेका गतिमा लाजमर्दा शब्दहरुको प्रयोग बढि भएका छन् । उत्ताउलो पाराका शब्दहरु प्रयोग बढ्दो छ । परिवार सँगै बसेर गीत सुन्न सक्ने अवस्थाका पनि हुँदैनन् । अहिलेका लोकदोहोरी गीतको म्युजिक भिडियोले झन लाजमर्दो अवस्था सृजना भएको छ । म्युजिक भिडियोका कलाकारहरुले लगाएको कपडाको त झन कुरै नगरौं होला ।
अन्त्यमा केही भन्नु छ कि ?
म लोकदोहोरी प्रतिष्ठान केन्द्रको संस्थापक सदस्य हुँ र दुई पटक केन्द्रीय सदस्य बनेँ । मलाई प्रतिष्ठानको २०६१ सालमा केन्द्रीय अधिवेशन हुँदा किरण सापकोटा र कृष्ण जिसीले निकै ठूलो भूमिका खेल्नु भएको थियो मलाई केन्द्रीय सदस्य बनाउन । अहिले म म्याग्दी लोकदोहोरी प्रतिष्ठानको सल्लाहकार हुँ । प्रतिष्ठान म्याग्दीका अध्यक्ष कुलदिप जुग्जालीले अहिले लोकदोहोरीलाई चलाउने प्रयास छन् । उनको प्रयास हो तर म्याग्दीको पुरानो साखजोगाउनका लागि त्यत्तिले पुग्दैन । अहिले हुने गरेका लोकदोहोरी गीत प्रतियोगीताहरुमा जिल्लाको प्रतिनिधित्व गराउने गरेका छन् । तर यहाँ महिला कलाकारको अभाव भने खड्कीएकै छ ।
मैले रेडियो नेपालबाट पनि धेरै गीत गाएँ । थाली नाच र अविजाले मायाँ गीतमा पनि धेरै पटक प्रतिनिधित्व गराएको थिएँ । २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा थालिनाच प्रस्तुत गरेका थियौं त्यसको नित्य निर्देशन मैले गरेको थिएँ । गीतको शब्द संकलन मैले आफै गरेको छु । मैले लोकदोहोरी क्षेत्रमा भएकै कारण झण्डै २० वटा जति सम्मान पाएको छु ।
स्थानीय कलाकार उत्पादनमा अब जोड दिनु पर्छ । बाहिरबाट कलाकार ल्याएर गाउँदा रमाइलो त हुन्छ तर स्थानीय कलाकारहरु पछि परेका छन् । स्थानीयलाई प्रोत्साहन दिने हो भने भविष्य सम्म पनि हाम्रा कलाकार र स्थानीय लोकदोहोरीको जगेर्ना हुन्छ । राजधानीका लोकदोहोरीमा गाउने कलाकार ल्याएर म्याग्दीमा हुने कार्यक्रममा सहभागी बनाउँदा स्थानीयलाई पछि पार्ने काम भएको छ । अहिले सञ्चार माध्यमले गर्दा पनि स्थानीय कलाकार उत्पादनमा सहज छ तर त्यसलाई बाहिर निकाल्ने अवसरको रुपमा देखिने प्रतियोगीताहरुमा बाहिरका कलाकारलाई बढि प्रोत्साहन दिँदा स्थानीयलाई समस्या भएको छ । सुन्ने दर्शक श्रोताले पत्याउने खालको हुनु पर्छ । मन्दीर हामीले राम्रो देख्छौं तर त्यो मन्दीर राम्रो बनाउने मानिस झनै राम्रो हो नि भन्ने हेक्का हामीमा हुन जरुरी छ ।
डम्मर पुर्जा, राधा पुन, उजेली पुन, कुमारी थापा, वीरबहादुर कार्की, हर्क पाइजा, नरबहादुर विसी, प्रदिप श्रेष्ठ, सञ्जय श्रेष्ठलगायतका कलाकारहरुले पहिलाको लोकदोहोरी धानेका हुन् । मेरो कुरा राख्ने मौका दिनुभएकोमा अमृत भाइ र यहाँको सञ्चार माध्यम नवविकल्प पत्रिकालाई धन्यवाद समग्र कलाकारको तर्फबाट ।