मुस्ताङमा दुईदेशिय ब्यापार मेला सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १ असार ।
नेपाल र चिनको स्वशासीत क्षेत्र तिब्बतको सिमा क्षेत्रमा बुधबारदेखि दुईदेशिय ब्यापार मेला सुरु भएको छ ।

ब्यापार मेलालाई लक्षित गरेर चिनले कोरला नाका २५ दिनका लागि खुल्ला गरेको छ । यसअघि वर्षमा दुई पटक ७७ दिन सञ्चालन हुदै आएको ब्यापार मेला यसपाली करिब एक महिना हुने भएको हो ।

तिब्बतको ढोङवासेनमा सञ्चालन भएको मेलामा उपल्लो मुस्ताङका ब्यापारीहरु गलैचा, पश्मिना, घोडा र जडिवुटी लिएर ब्यापार गर्न गएका छन् । ब्यापार मेलामा गएका नेपाली ब्यापारीहरुले भेडा, च्याङ्ग्रा, लत्ताकपडा, पेयपदार्थ, फर्नीचर, निर्माण सामाग्री, शृङगारका सामाग्री किनेर ल्याउने उपल्लो मुस्ताङका ब्यापारी न्हिमा गुरुङले बताउनुभयो ।Baper Mela File Photo

मेलामा नेपाली नागरीकता प्रमाणपत्रको आधारमा चिनीया अधिकारीले निश्चित समयअवधिका लागि परिचयपत्र बनाएर कारोबारका लागि अनुमती दिने गरेका छन् । चिनीया सुरक्षाकर्मीले तिब्बती शरणार्थीको ब्यापार मेलामा घुसपेठ हुन सक्ने भन्दै उच्च सर्तकता अपनाएका छन् ।

नेपालको सिमाबाट ब्यापार मेला स्थलसम्म पुग्न चिनीया सुरक्षाकर्मीले तिन ठाउँमा चेकजाँच गर्छन् । पहिले बस्तु बिनीमयमा आधारीत ब्यापार मेला पछिल्लो समय आयात, निर्यात र ब्यवसायमा परिणत भएको छ । ब्यापार मेलामा म्याग्दी, बागलुङ र पर्वत लगायतका जिल्लाबाट पनि ब्यापारी र सर्वसाधारण भ्रमण तथा किनमेलका लागि गएका छन् ।
गत वर्ष मेलामा ४५ लाख रुपैया बराबरको कारोबार भएको थियो । नेचुङ भन्सार कार्यालयले पहिलो पटक डेढ लाख रुपैया राजस्व संकलन गरेको थियो । विगतका वर्षमा भन्सार कार्यालय नहुँदा तिब्बतबाट भन्सार छली गरेर मोटरसाईकल ल्याउने गरिएको थियो । गत वर्षदेखि तिब्बतबाट भन्सार छली गरेर मोटरसाईकल ल्याउने क्रम रोकीएको छ ।

ब्यापार मेला सञ्चालन हुने बाहेकको अवस्थामा कोरला नाका पूर्ण रुपमा बन्द हुने गर्छ । नाका सञ्चालनका लागि पछिल्लो समय नेपाल सरकारले कुटनिटिक पहलका साथै पहुँचमार्ग र सुख्खा बन्दरगाहा निर्माणका लागि प्रक्रिया अघि बढाएको छ ।