मल्लाजको दह दम्पती हत्या ः शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै

विकल्प न्यूज/जलजला
चैत २१ गते ।


पवर्तको जलजला गाउँपालिका २ मल्लाजको दहमा भएको दम्पती हत्यामा शंकास्द देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया गमला जिसी हत्या घटनामा दुई जना नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकासराज खनालले बताउनुभयो ।

‘सोधपुछ धेरैलाई गरियो । तर, दुई जना अलि बढी शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान हुँदैछ । अहिले नै उनीहरुको भूमिका के हो भन्ने खुलिसकेको छैन,’ डीआईजी खनालले भन्नुभयो । नियन्त्रणमा रहेकाहरुको संलग्नताबारे अहिले नै पुष्टि भइनसकेकाले प्रहरीले उनहरुको विवरण भने गोप्य राखेर अनुसन्धान गरिरहेको छ ।

डीआईजी खनालको टोली मंगलबार नै पोखराबाट घटनास्थल गएको थियो । डीआईजी खनालका अनुसार घटना भएको घर एकान्त ठाउँमा भएकाले वरपरका कसैले पनि केही थाहा नपाएको बताएका छन् ।

त्यस्तै मंगलबार नै अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुरसहितको टोली, डाक्टरको टोली र प्राविधिक टोली परिचालन गरिएको थियो । अहिले प्राविधक र म्यानुअल दुवैतर्फबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख तथा डीएसपी खुमलाल भुसालले बताउनुभयो ।

घटनास्थल पवर्त र म्याग्दीको सीमा क्षेत्र नजिक रहेको छ । घटनास्थल जिल्ला पर्वतबाट भन्दा पनि जिल्ला प्रहरी कार्यालय (जिप्रका) म्याग्दीबाट नजिक रहेकाले प्रहरीले जिप्रका म्याग्दीलाई बेस बनाएर हामीले अनुसन्धान अघि बढाएको छ ।

सोमबार राति ९ बजेसम्म जिसी दम्पतीको अवस्था ठीक रहेको देखिएको थियो । ९ बजेसम्म उनीहरुले आफन्तसँग फोनमा कुराकानी गरेको समेत देखिएको छ । तर, भोलिपल्ट मंगलबार बिहान जिसी दम्पतीका छोराले म्याग्दीबाट फोन गरेका थिए । तर, फोन उठेन । जिसी दम्पतीका एक छोरा म्याग्दीमा फेन्सी पसल सञ्चालन गर्छन् भने दुई छोराहरु कोरियामा छन् । कोरियाबाट समेत फोन गर्दा फोन नउठेपछि छिमेकीलाई खबर गरिएको थियो ।

छिमेकीहरु गएर हेर्दा दुवै जना लडेको अवस्थामा मृत फेला परेपछि प्रहरीलाई खबर आएको डीएसपी भुसालले बताए । ‘शरीररमा चोट र निलडाम पनि छन् । जसकारण लाठ्ठीले हान्नेदेखि धारिलो हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिन्छ,’ डीएसपी भुसालले भने ।

दम्पतीले घरमै सानो किराना पसल पनि सञ्चालन गर्दै आएका थिए । किराना पसल चाबी लगाएको अवस्थामा बन्द थियो । तर दम्पती सुतेको कोठामा भने बाहिरबाट चुकुल लगाइएको थियो । स्थानीय घर ढोका खोलेर हेर्दा दुवै जना रक्ताम्य अवस्थामा मृत भेटिएका थिए ।
मंगलबार नै शव जाँच मुचुल्का गरेर शव पोस्टमार्टमका लागि म्याग्दी पठाइएको थियो ।