विकल्प न्यूज/बेनी
बैशाख २२ गते ।

म्याग्दीको बेनी नगरपालिका २,ज्यामरुककोटको गौश्वरामा पहिलोपटक गोबर्धन महायज्ञ आयोजना गरिएको छ । गौश्वरा गोबर्धन गौं धामको आयोजनामा धार्मिक पर्यटन प्रवर्धन,योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले महायज्ञ संचालन गरिएको हो ।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा यही वैशाख १५ देखि ३० गतेसम्म महायज्ञ संचालन गरिएको गौश्वरा गोबर्धन गौ धाम समितिका अध्यक्ष डम्बरबहादुर खत्रीले जानकारी दिनुभयो ।
बागलुङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोटको नजिकै रहेको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले युक्त गौश्वारमा पश्चिम नेपालमा नै पहिलो पटक गोवर्धन महायज्ञ आयोजना गरिएको गौ धाम समितिका अध्यक्ष खत्रीले बताउनुभयो । महायज्ञ मार्फत गौश्वरालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
महायज्ञमा संकल्पकर्ता श्रीमुक्तिनाथबाबा र प्रमुख बाचक आचार्य श्रीसुशर्दनबडालले दैनिक रुपमा धार्मिक प्रवचन दिनुभएको छ । महायज्ञमा म्याग्दी,पर्वत र बागलुङ लगायतका जिल्लाहरुबाट धार्मिक भक्तजनहरु आउनुभएको छ । महायज्ञमा सहयोग गर्ने दाताहरुलाई विभिन्न सातवटा सेवाका प्रकल्पहरु निर्धारण गरिएको आर्थिक सहयोग संकलन समितिका सचिव हिराबहादुर थापाले बताउनुभयो ।
#ADD

उहाँका अनुसार क वर्गको सदस्यताका लागि सातलाख ५५ हजार पाँच सय ५५ रुपियाँ सेवा शुल्क तोकिएको छ भने उक्त सदस्यता जम्मा एक जनालाई मात्र वितरण गरिएको छ । त्यसैगरी ख वर्गको सदस्यताका लागि पाँचलाख ५५ हजार पाँचसय ५५ रुपियाँ निर्धारण गरिएको छ । उक्त सदस्यता दुईजना दाताले प्राप्त गर्न सक्नुहुने छ ।
त्यसैगरी पाँच जनालाई ग वर्गको सदस्यता वितरण गरिने छ । जसको शुल्क तीन लाख ५५ हजार पाँच सय ५५ रुपियाँ रहेको छ । ११ जनालाई वितरण गरिने घ वर्गको सदस्यता शुल्क दुईलाख ५५ हजार पाँच सय ५५ रुपियाँ,१५ जनालाई दिइने ङ वर्गको सदस्यता शुल्क एकलाख,५५ हजार, पाँच सय ५५, च वर्गको सदस्यताका लागि ५५ हजार,पाँच सय ५५ र छ वर्गको सदस्यताका लागि २५ हजार,पाँचसय ५५ रुपियाँ शुल्क निर्धारण गरिएको छ । च वर्गको सदस्यता ३५ जना र छ वर्गको सदस्यता १०८ जनालाई वितरण गरिने आयोजकले जनाएका छन् । महायज्ञमा सदस्यताबाट एक करोड, ३४ लाख, ९३ हजार, दुईसय ३५ रुपियाँ सहयोग रकम जुट्ने आयोजकले अपेक्षा गरेका छन् ।
सदस्यता शुल्कका अतिरिक्त थप दुई करोड रपियाँ सहयोग संकलन हुने आयोजकले गरेका छन् । महायज्ञमा वचत भएको रकमबाट विभिन्न पर्यटकीय तथा धार्मिक पूर्वाधार निर्माण गरिनुका साथै गौशाला,बहुउद्देश्यीय सांस्कृतिक भवन, ध्यान कुटीलगाएतका संरचना निर्माण गरिने महायज्ञ सम्पादन समितिका संयोजक तथा बेनी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर क्षेत्रीले बताउनुभयो ।