ताजा समाचार:
Search

बिना अक्सिजन धौलागिरिको चुचुरोमा पुगे पाकिस्तानी आरोही


ठाकुरप्रसाद आचार्य /बेनी
म्याग्दी,बैशाख ३० गते ।

पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले बिना अक्सिजन संसारको सातौं हिमाल ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरिको सफल आरोहण गर्नुभएको छ । धौलागिरि हिमाल म्याग्दीको धबलागिरि गाउँपालिका ४ मुदीमा पर्दछ ।
हिमाल आरोहणका क्षेत्रमा चर्चित सदपाराले बिना अक्सिजन र सहयोगीको सहायता नलिइकन गत शनिबार धौलागिरिको सफल आरोहण गर्नुभएको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिनुभयो । उहाँका अनुसार पाकिस्तानी आरोही सदपाराले मे ४ मा चार पाकिस्तानी पर्वतारोही सहित हिमाल आरोहण सुरु गर्नुभएको थियो । धौलागिरिको चुचुरोमा पुगेर उहाँले नेपालको झण्डा र आफ्नो देश पाकिस्तानको झण्ड एकसाथ फरफराउनुभएको थियो ।


सेभेट समिट ट्रेक्सका प्रबन्धक गुरागाईले भन्नुभयो, ‘‘सद्पाराले मे ७ मा धौलागिरि हिमालको आधार शिविर पुग्नुभएको थियो । उहाँ क्याम्प ३ सम्म पुगेर फेरी आधार शिविर झर्नुभएको थियो । चुनौतीपूर्ण मौसमको सामना गर्दै बिना अक्सिजन र सहयोगी बिना उहाँले हिमाल आरोहण गर्नुभएको छ । हाम्रो तर्फबाट आरोहणका लागि जानुभएका सदपाराको सफल आरोहणले हामी सबैलाई खुसी बनाएको छ ।’’


धौलागिरिको चुचुरोमा पुगेर पाकिस्तानी आरोही सदपाराले गौरबको अनुभूति सहित सबैलाई धन्यबाद दिएको उहाँले बताउनुभयो । वसन्तकालिन यामका लागि अहिले सम्म दुई समुहका ६ महिला र ९ पुरुष गरेर १५ जनाले आरोहणको अनुमति लिएका छन् । शनिबार मात्रै ७ नेपाली र ६ जना विदेशी सहित १३ जनाले एकैपटक धौलागिरिको सफल आरोहण गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *