ताजा समाचार:
Search

म्याग्दीका तीन पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान


ठाकुरप्रसाद आचार्य
म्याग्दी,बैशाख ३० गते ।

म्याग्दीका क्रियाशिल तीनजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समितिको दशौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रमका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको कार्यालयले पत्रकारहरुलाई नगद सहित विकास पत्रकारिता पुरस्कारद्धारा सम्मान गरेको हो ।


जिल्ला समन्वय समिति म्याग्दीले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट जिल्लाका क्रियाशिल पत्रकार प्रताप बानियाँ,दलप्रसाद विश्वकर्मा(अमित) र राकेश शर्मालाई जनही नगद ११ हजार रुपियाँ र सम्मान पत्रले पुरस्कृत गरिएको जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।


संविधान सभा सदस्यहरु गोविन्द पौडेल,नवराज शर्मा,रेशमबहादुर बानियाँ,नरदेवी पुन गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जाली र जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री लगायतले नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर पुरस्कृत एवम् सम्मान गर्नुभएको थियो ।

बानियाँलाई आर्थिक वर्ष २०७८\०७९,विश्वकर्मालाई २०७९\८०, शर्मालाई २०८०\०८१, को पुरस्कार एकैपटक प्रदान गरिएको हो । पुरस्कृत हुनुहुने पत्रकारहरु जिल्ला र केन्द्रीय स्तरका विभिन्न सञ्चार माध्यममा एक दशक भन्दा लामो समयदेखि क्रियाशिल हुनुहुन्छ ।


नवीन सोच तथा प्रतिभाको प्रयोग गरी खोजमुलक,अनुसन्धानमुलक समाचार मार्फत जिल्लाको समग्र विकासमा योगदान पु¥याएको भन्दै पत्रकारहरुलाई नगद सहित सम्मानित गरिएको जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले बताउनुभयो ।

तत्कालिन समयमा जिल्ला विकास समितिले स्थापना गरेको. दुई लाख रुपियाँको कोषमा जिल्ला समन्वय समितिले एक लाख थपेर तीन लाख रुपियाँको विकास पत्रकारिता अक्षय कोष बनाएको छ । पत्रकारहरुबाट आवेदन संकलन गरेर लेखेका समाचार मूल्याङ्कन गरी छनौट समितिद्धारा उत्कृष्ट पत्रकारहरु छनौंट गरिएको जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।


२०७२ मा तत्कालिन जिल्ला विकास समितिले म्याग्दी जिल्लाको विकास पत्रकारिता अक्षयकोष कार्यविधि २०७२ बनाएर उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष एकजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसैगरी बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकालाई जिसस म्याग्दीले कदरपत्रद्धारा सम्मान गरेको छ । स्थानीय तह संस्थागत स्वमूल्याङ्कन कार्यविधि बमोजिम आ.व २०८०\०८१ को मुल्याङ्कनमा ९०.२५ अंक प्राप्त गरी म्याग्दी जिल्लाका स्थानीय तहहरु मध्य सर्वोत्कृष्ट स्थान प्राप्त गरेको भन्दै नगरपालिकालाई कदरपत्रद्धारा सम्मान गरिएको छ ।

यस्तै स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ बमोजिम आ.व २०८०\०८१ को मूल्याङ्कनमा ८९ अंक प्राप्त गर्दै जिल्लाका स्थानीय तहहरु मध्य सर्वोत्कृष्ट भएको भन्दै कदरपत्रद्धारा सम्मान गरिएको जिससका शाखा अधिकृत सुवेदीले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *