विकल्प न्यूज/बेनी
चैत ९ गते ।
कालिगण्डकी कोरिडोरको बेनी–गलेश्वर सडक खण्डको छेवैमा टुकबहादुर लोहारले आरन संचालन गर्नुभएको छ । सडक नजिक रहेको छाप्रोमा लोहारले बनाउनुभएका कृषि औजारहरु सजाएर राख्नुभएको छ । बुटबल घर बताउँने लोहार म्याग्दी आएर आरन व्यावसाय संचालन गरेको ६ वर्ष भइसकेको छ । आफ्नो बाउबाजेले गरेको पुख्र्यौली पेशालाई निरन्तरता दिन बजारको खोजी गर्ने क्रममा उहाँ बेनी आउनुभएको हो ।
आरन पेशाबाट टुकबहादुरले राम्रो आम्दानी समेत गर्नुभएको छ । रोजगारीका लागि भारतमा दश वर्ष विताउनुभएका उहाँले घर फर्किएर आफ्नो पुख्र्यौली पेशालाई नै निरन्तरता दिनुभयो । ‘म सानो हुँदा बुबाले सिकाउनुभएको सीप हो । बुबाले भन्नुहुन्थ्यो,सीप सिकेपछि कहिल्यै भोकैबस्नुपर्ने अवस्था आउदैन छोरा । बुबाको त्यहीँ बोली मेरो जिन्दगीका लागि मार्गदर्शन बनेको छ । अहिले सम्म मलाई आर्थिक समस्या परेको छैन,’ उहाँले भन्नुभयो ।
सानो हुँदा बुबाको आडमा बसेर सिकेको सीप लोहारको जीवनमा लोभलाग्दो आम्दानीको स्रोत बनेको छ । उहाँले हँसिया, कुटो,बञ्चरो,खुकुरी, कोदोला, ओदान, खुँडा, दाबेलगायत कृषि औजारहरुका सामानहरु तयार पार्नुहुन्छ । लोहार सँग ८ सय देखि नौ हजार रुपियाँ मुल्य सम्मका औजारहरु छन् ।
ADV
बुटबलमा चार–पाँच वर्ष आरन पेशा गर्नुभएका उहाँले स्याङ्जा फर्किएर २ वर्ष, पोखराको खसीबजारमा १० वर्ष यही पेशा गर्नुभयो । त्यहाँबाट म्याग्दीको गलेश्वर आएपछि विगत ६ वर्षदेखि आरन पेशा सञ्चालन गरिररहनुभएको छ । श्रीमती, दुई छोरा र छोरी छन् । सबैको खर्च उहाँले आरन पेशाबाटै धानिरहनुभएको छ । आरन पेशाबाट मासिक खर्च कटाएर ६० हजार देखि ८० हजार रुपियाँ सम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । २०५६ सालदेखि निरन्तर रुपमा आरन चलाउने पेशा गर्दै आएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘‘मेरो हजुरबुवाले पनि आरन पेशा गर्नुभयो । उहाँबाट बुबाले सिक्नुभयो,बुबाबाट मैले । बुबाले सिकाउनुभएको सीप अहिले जिन्दगी चलाउने सहारा बनेको छ ।’’ दैनिक रुपमा तीन हजार देखि चार हजार रुपियाँ सम्मका औजारहरु बिक्री गर्ने उहाँ बताउनुहुन्छ ।
सडकमा गुडेका सवारीसाधनहरु आरन देखेर रोकिन्छन् र यात्रुहरु ओर्लिएर औजार खरिद गर्दछन् उहाँले भन्नुभयो, ‘‘म्याग्दी र मुस्ताङ घुम्न आएका विदेशी पर्यटकले समेत यहाँबाट विभिन्न औजारहरु खरिद गरेर लैजान्छन् । मैले पसिना बगाएर बनाएका सामग्रीहरु युके,अष्ट्रेलिया लगायतका विदेशी मुलुकमा पनि पुगेका छन् ।’’ म्याग्दीका साथै मुस्ताङबाट पनि औजारको माग आउने गरेको उहाँले सुनाउनुभयो ।
रोजगारीको लागि दश वर्षसम्म भारतमा विताउनुभएका लोहारले अरुको काम गर्नुभन्दा आफ्नै पेशा गर्दा आनन्द महसुस हुने सुनाउनुभयो । अर्काको देशमा काम गर्दा जति धेरै पैसा भएपनि सन्तुष्टि नमिल्ने र अहिले आफ्नै पेशामा पसिना बगाउदा सन्तुष्टि मिलेको उहाँको भनाई छ ।
मासिक रुपमा दुईहजार पाँचसय रुपियाँ बेनी नगरपालिकालाई भाडा बुझाउने गरी अस्थायी छाप्रो बनाउनुभएको छ । छाप्रो बाहिर बनाएका विभिन्न औजारहरु सजाएर राख्नुभएको छ ।
रुपन्देही जिल्लाको देवदह नगरपालिका–३, घर भएका टुकबहादुरको पुख्र्यौली घर भने स्याङ्जा हो । सानैमा आफ्नो बुवासँगै बुटवल झर्नुभएका उहाँ पछि पुनः स्याङ्जामै फर्किएर केही समय आरन पेशा सञ्चालन गरेको उहाँले बताउनुभयो । ‘पारिवारिक स्थिति कमजोर थियो । सामान्य लेखपढ समेत गर्न पाइन,सानो हुँदा बुबाले सिकाएको सीपले परिवार पालेको छु,’ उहाँले भन्नुभयो । आरन पेशालाई पनि सरकारी स्तरबाट साथ र सहयोग मिल्नुपर्ने उहाँको भनाई छ ।