सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको छ–मन्त्री भुषाल

सिंगा, २७ पुष ः

कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदराम भुषालले सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको बताउनु भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शुक्रबार हरियाली ग्रुप प्रा.ली.को पाँचौ वार्षिक साधारणसभा उद्घाटन गर्नुहुदै नागरिकको जिवनशैलीमा आएको परिवर्तनका कारण खेतीयोग्य जमिन बाझो बन्न थालेको बताउनुभयो ।

देशभर कुुल ४१ लाख हेक्टर जमिन मध्य ११ लाख हेक्टर बाँझो रहेको बताउदै बाँझो जमिनलाई खेती गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । यस वर्ष चैते धान विस्तारका लागि मिसन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।

मन्त्री भुषालले कृषि उपजको बजारीकरण गर्न कृषि एम्बुलेन्स कार्यक्रम अघि सारिएको बताउनुभयो । कृषि उपजलाई सहज रुपमा बजारीकरण गर्न यस वर्ष ४९ वटा स्थानीय तहलाई चिस्याह सहितको कृषि एम्बुलेन्स उपलब्ध गराउन लागेको जानकारी दिनुभयो । १६९ वटा स्थानीय तहमा पशुुरोग प्रयोगशाला स्थापना गर्ने कार्यक्रम रहेको बताउनुभयो । मन्त्री भुषालले हरियाली ग्रुप प्रा.ली.ले सिंगामा सञ्चालन गरेको कृषि फार्मको निरिक्षण  गर्नुभएको थियो ।

सिचाई सुविधा विस्तार, उन्नत जातको विउको उपलब्धता, अनुुसन्धानलाई किसानको बिचमा लैजाने र समयमा मल आयात तथा वितरणको व्यवस्था मिलाएर कृषि उपज उत्पादन बढाउन पहल गरिएको मन्त्री भुषालले बताउनुभयो । कृषिमा गौरवमा योजनाको आवश्यकता रहेको बताउदै उहाँले कृषि ऐनको मस्यौदा तयार पारेको जानकारी गराउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरि बहादुर भण्डारीले प्रदेश सरकारले वास्तविक कृषकलाई लक्षित गरेर उत्पादनको आधारमा अनुुदान दिने नीति लिएको बताउनुभयो । कृषि उद्यम मार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि र आयात घटाउनुपर्ने उहाँले बताउनुभयो ।

कृषि विज्ञ टिकाबहादुर कार्कीले हरियाली कृषि उद्यममा देशकै नयाँ मोडल भएको बताउनुुभयो । कृषि उद्यमको प्रर्वद्धनका लागि कृषि कार्यक्रमको स्वरुप परिवर्तन गर्न सुझाव दिनुभयो । बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले सिंगामा सुन्तला, तरकारी खेती, बाख्रा र गाईभैसीपालनमा जोड दिएको बताउनुभयो ।

कम्पनीले स्थानीय कृषकहरुको २०० रोपनी जग्गा भाडामा लिएर चक्लाबन्दी गरेर तरकारी, कुखुरा, बाख्रा, माछापालन गरेको अध्यक्ष चिनिमाया श्रेष्ठले बताउनुभयो ।