राखु भगवतीमा राँगो मार हान्न लाखौंको प्रतिस्पर्धा किन ?

ठाकुरप्रसाद आचार्य
म्याग्दी,कात्तिक ६ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती कोत मन्दिरमा बिजया दशमीको महानवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाख तीस हजार रुपियाँको बोलकबोल भएको छ । बडा दशैंको आठौं दिन कालरात्रीमा खुला बढीबढाउ गरी राँगोको मार हान्ने व्यक्तिको छिनोफानो गरिएको हो ।

एक घण्टाको समयसिमामा सुरु भएको बढीबढाउमा पाँचजनाबीच भएको प्रतिस्पर्धामा रघुगंगा गाउँपालिका– २, सिजलगाउँका एकेन्द्र भण्डारीले सबै भन्दा धेरै तीन लाख ३० हजार रुपियाँ रकम तिर्ने बोलकबोल गरेर सरकारी बलीको मार हान्ने हुनुभएको छ ।

भण्डारीले आइतबार नै कबोल गरेको रकम पुजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । पूजा व्यवस्थापन समितिले सरकारी राँगाको बढीबढाउको सुरुवाती मूल्य ६७ हजार रुपियाँ कायम गरेको थियो ।

यस अघि २०७९ सालमा ३ लाख १५ हजार, २०७८ सालमा ३ लाख, २०७६ सालमा २ लाख ८० हजार रुपियाँको बोलकबोल भएको थियो । महानवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिहरुको मनोकांँक्षा पुरा हुने जनविश्वासका कारण आकाँक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउ मार्फत छनौट गरिएको भगवती कोतमन्दिर पुजा व्यवस्थापन समितिका सचिब कृष्णबहादुर शाहीले जानकारी दिनुभयो ।

कोत मन्दिरमा सरकारी मार हानेपछी पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित गाउँ घुमाउँदै सम्मान गर्ने प्रचलन रहेको छ । राँगोको मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको दावी गरिएको छ ।
यो क्षेत्रकै एतिहाँसिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । आफुले चाहेको पुरा गराउन यहाँ मार हान्नका लागि भाकल गर्ने गरिन्छ । आँटेको र चाहेको पुरा हुने भएपछि हरेक बर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएको पुजा व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष थानबहादुर भण्डारीले बताउनुभयो ।

बाइसे\चौबीसे राज्यका पालामा १७औँ शताब्दीमा भगवती मन्दिर निर्माण भएको थियो । भगवती कोत म्याग्दीका पुरानो र ऐतिहासिक कोतको सूचीमा पर्दछ । चैते र बडादशैँको अवसरमा विषेश पूजा हुने भगवती कोतमा अन्य समयमा दैनिक नृत्यपूजा हुन्छ । भगवती कोत शक्तिपीठ हो । दशैँको पूजामा यहाँ बलि चढाउने चलन अझै जिवित छ ।

तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतका रूपमा चिनिदै आएको यस मन्दिरको इतिहास नेपाल एकीकरण हुनुअघिको तत्कालीन विभिन्न भुरेटाकुरे राजा तथा १४औँ देखि १७औँ शताब्दीका बाइसे\चौबिसे राज्यका राजासँग जोडिएको इतिहास छ ।