बागलुङ, वैशाख १७ गते ।

बागलुङ नगरपालिका ४ कुँडुले फेदीस्थित रंगवैकटेश मन्दिर परिसरमा शालग्राम महोत्सव सुरु भएको छ । रंगवैकटेश मुक्तिनारायण मन्दिरको ३८ औँ ब्रम्होत्सवको अवसरमा आयोजित शालग्राम महोत्सवको बुधबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले उद्घाटन गर्नुभयो ।
सो अवसरमा मन्त्री पाठकले संसारले बुझेको शालिग्रामको महत्वलाई हामीले अझै बुझ्न नसकेको बताउनुभयो । ‘‘चर्तुबाहिनी नदीका रुपमा परिचित कालीगण्डकी नदी किनारमा पाइने शिलाको धार्मिक तथा साँस्कृतिक महत्व उजागार गर्दै संसारभर प्रचारप्रसार गर्दै संरक्षणमा सबै जुट्न पर्छ,’’ मन्त्री पाठकले भन्नुभयो । अवैध रुपमा बढ्दै गएको नदी दोहनले शालिग्राम नै संकटमा पर्न सक्ने उल्लेख गर्दे मन्त्री पाठकले कानुनविपरित भईरहेको कालीगण्डकी दोहन रोक्न स्थानीय तहलाई प्रभावकारी भूमिका खेल्न आग्रह गर्नुभएको छ ।
#ADD

‘‘नदी संरक्षणको नाममा नदीजन्य पदार्थ उत्खनन् गर्नै नहुने भन्ने होइन, नदीको प्राकृतिक स्वरुप नै परिवर्तन गर्नेगरी भइरहेका कामप्रति चनाखो हुनुपर्छ’’ मन्त्री पाठकले भन्नुभयो, ‘‘धार्मिक र साँस्कृतिक महत्व बोकेको कालीगण्डकी नदी संरक्षण गर्नुपर्छ भन्ने कुरा भुल्नु हुँदैन’’ पाठकले भन्नुभयो । शालग्राम संग्राहलयलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके यस क्षेत्रले आर्थिक लाभ लिनसक्ने बताउँदै मन्त्री पाठकले मन्दिर र संग्राहलयको भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सधैं साथ रहने बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले शालग्राम संरक्षण गर्ने काम मात्र नभइ सबैले सत्चरित्र निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भारतीयले शालीग्रामको महत्व बुझेर अयोध्या लगेर पुजेको तर हामीले पुज्न नसकेको तर्क गर्नुभयो । ‘‘एउटा शिला अयोध्या लगेर नेपालबाट ल्याएको भनेर लेखेर राखिएको छ, हामीले त्यसको महत्व बुझ्न सकेनौं, शालीग्रामले बनेका घरमा बसेर हामीले सतचरित्र देखाउन चुकेका छौं’’ ।
महोत्सवमा दैनिक पाठपारायण, रामायण प्रवचन, भजनकिर्तन, १ सय ८ कलश पुजन, शालग्रामको महत्वबारे चर्चा परिचर्चा, यज्ञ हवन, विद्धान गुरुजनबाट प्रवचन लगायतका कार्यक्रम गरिने रंगवैकटेश मन्दिरका अध्यक्ष तथा शालग्राम संग्राहलयका परिकल्पनाकार स्वामी प्रपन्नाचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, शालग्राम शिला र शालग्राम पाइने एकमात्र नदी कालीगण्डकीको महत्वबारे पनि महोत्सवमा बढी चर्चा हुने छ ।
बाघको मुखाकृति सुरुङ निर्माण गरी संग्रहित गरिएका सवा लाख शालग्रामको दर्शन तथा अवलोकनका लागि पछिल्लो समय दैनिक रुपमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको भिड लाग्ने गरेको छ । बागलुङ कालिका भगवती, मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जाने हजारौँ पर्यटक अहिले संग्राहलयमा पुग्न थालेका छन् । १० करोड बढी लगानीमा धार्मिक महत्वका संरचना बनेपछि संग्राहलयमा आउने पर्यटकको संख्या हरेक वर्ष बढ्दो छ ।
सुरुङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति बनाइएको छ । शालिग्राम शिला हिन्दू धर्ममा अत्यन्तै पवित्र र पूजनीय पत्थर मानिन्छ, जुन विशेषगरी भगवान विष्णुको प्रतीकको रूपमा पूजिन्छ । विशेष गरी कालीगण्डकी नदी, मुक्तिनाथ र दामोदर कुण्ड क्षेत्रहरूमा शालग्राम शिला पाइन्छन् । पद्मपुराण अनुसार, शालिग्राम शिलाको स्पर्शमात्रले पनि करोडौं जन्मका पापहरू नष्ट हुने विश्वास गरिन्छ । यसको विधिपूर्वक पूजा गरेमा मोक्ष प्राप्ति सम्भव हुने पद्यपुराणमा उल्लेख गरिएको छ ।
शालिग्राम शिलालाई १ सय मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । गत वर्षको तुलनामा चालु वर्ष ५० हजार बढी धार्मिक पर्यटक संग्रहालयको अवलोक गरेका छन् । गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु वर्षको १० महिनामा एक लाख ५० हजार पर्यटक संग्रहालयमा आएको ऋषि प्रपन्नचार्यले जानकारी दिनुभयो । त्रिशूल आकारमा सुरुङभित्र स–साना शालिग्रामदेखि ३ सय किलोसम्मका शालिग्राम छन् । gorkhapatraonline